काठमाडौं । फाइनान्स कम्पनीहरूमा ११ अर्ब रुपैयाँभन्दा बढी खराब कर्जा देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म फाइनान्स कम्पनीहरूले एक खर्ब ३४ अर्ब २६ करोड ४० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी एक खर्ब एक अर्ब ९६ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
प्रवाह भएको कर्जामध्ये १० दशमलव ८४ प्रतिशत अर्थात् ११ अर्ब पाँच करोड ३० लाख रुपैयाँ खराब देखिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन अर्ब २० करोड ३० लाख रुपैयाँ बढी हो ।
गत वर्ष पुस मसान्तसम्म फाइनान्स कम्पनीहरूले एक खर्ब १६ अर्ब ४० करोड ९० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ९३ अर्ब ७९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा आठ दशमलव ३७ प्र्रतिशत अर्थात् सात अर्ब ८५ करोड रुपैयाँ खराब कर्जा थियो ।
मल्टीपर्पस फाइनान्स कम्पनीकोे खराब कर्जा दोस्रोे त्रैमाससम्म पाँच दशमलव ४५ प्रतिशत छ । जुन एक वर्षअघिको तुलनामा तीन दशमलव ९७ प्रतिशत विन्दु धेरै हो ।
गत वर्ष पुस मसान्तमा मल्टीपर्पसको खराब कर्जा एक दशमलव ४८ प्रतिशत थियो । प्रोग्रेसिभ, गोर्खाज र रिलायन्स फाइनान्सको खराब कर्जा क्रमशः सात दशमलव ५७, तीन दशमलव शून्य छ र १४ दशमलव ३१ प्रतिशत छ ।
जुन गत आर्थिक वर्षको सोही अवधिमा क्रमशः १२ दशमलव ४५, तीन दशमलव ६१ र चार दशमलव ९५ प्रतिशत थियो । पुस मसान्तसम्म सेन्ट्रल, मञ्जुश्री र नेपाल फाइनान्सको निष्क्रिय कर्जा पनि क्रमशः ११ दशमलव शून्य चार, तीन दशमलव ८६ र १० दशमलव ४६ प्रतिशत खराब कर्जा छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यी फाइनान्सहरूको खराब कर्जा क्रमशः नौ दशमलव ४४, तीन दशमलव ५० र १० दशमलव ५२ प्रतिशत थियो । गुडविल, गुहेश्वरी मर्चेन्ट र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको खराब कर्जा क्रमशः छ दशमलव ७७, आठ दशमलव १८ र तीन दशमलव ७१ प्रतिशत छ ।
गत आर्थिक वर्षको पुस मसान्तमा यी कम्पनीहरूको खराब कर्जा क्रमशः पाँच दशमलव २३, छ दशमलव ४५ र एक दशमलव ९४ प्रतिशत थियो । आईसीएफसी, पोखरा र बेष्ट फाइनान्सको खराब कर्जा गत पुसमा क्रमशः तीन दशमलव शून्य सात, ३३ दशमलव ४४ र तीन दशमलव ८६ प्रतिशत छ ।
जुन गत आर्थिक वर्षको सोही अवधिमा क्रमशः दुई दशमलव २१, चार दशमलव ७६ र तीन दशमलव ३२ प्रतिशत थियो । समृद्धि र जानकी फाइनान्सको खराब कर्जा पुससम्म क्रमशः १९ दशमलव ३४ र ४० दशमलव ८० प्रतिशत छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यी फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा क्रमशः चार दशमलव ६८ र १९ दशमलव ९९ प्रतिशत थियो । (आर्थिक दैनिकबाट)
प्रतिक्रिया