Logo

अनलाइनपाना खोज

पाथीभरामा केवलकार बनाउने ढकालको हुटहुटी कायमै: धर्ममा अनास्था, व्यापार किन धार्मिक क्षेत्रमै ?



काठमाडौं । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केवलकार बनाउने चन्द्र ढकालको हुटहुटी अझै रोकिएको छैन। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले पाथिभरामा केबलकार बनाउने संकेत गरेका छन्। जसका लागि उनी केहि समय केबलकार योजना स्थगित गरेको देखाएर पुन: उक्त स्थानमा सहज वातावारण बनाउनेतर्फ लागेका छन् ।

सोहिअनुसार ढकाल आँफैले नेतृत्व गरिरहेको नेपाल उद्योग वाणिज्य संघ लगायत अन्य संघ संस्थालाई विज्ञप्ति निकाल्न लागएर पाथिभरामा केबलकार अति आवश्यक रहेकाले विरोध नगर्न भनिरहेका छन् । ढकालले आफ्नो निजी स्वार्थका लागि नियामक निकायहरुलाई समेत अनुचित प्रभावमा परेर धार्मिक क्षेत्रको अतिक्रमलाई विकासको नाम दिएर पहिचान पक्षधरलाई विकास विरोधी भनिरहेका छन्।

स्थानीय ‘मुन्धुम’ संस्कृतिमाथि अतिक्रमण गर्न खोजिएको र स्थानीय प्राकृतिक स्रोतसाधनलाई व्यापारिक स्वार्थपूर्तिका लागि दोहन गर्न खोजिएको भन्दै स्थानीय आक्रोषित बने। ऐतिहासिक एवं पौराणिक महत्व बोकेको प्रसिद्द धार्मिक तीर्थस्थललाई यथास्थितिमै रहन दिनुपर्ने स्थानीयको अडान र राज्य सत्ताका केहि अमुक व्यक्तिलाई प्रभावमा पारी धार्मिक क्षेत्र खोजीखोजी व्यापार विस्तार गर्न खोज्ने व्यापारी चन्द्र ढकालको जबर्जस्तीले केहिदिन अघि पाथिभरा क्षेत्र आक्रान्त बन्यो। स्थानीयको इच्छा विपरित एक व्यापारीलाई संरक्षण गर्दा राज्यमा भयावहको स्थिति बन्यो। देशभरका जनताको चासो पाथिभरा क्षेत्रमा तानियो। धार्मिक, जातीयता र साम्प्रदायिक द्वन्द निम्तिने खतरा भएपछि सरकारले आँफैले स्थानीय ‘नो केबलकार’ समूहलाई वार्तामा राख्यो र उक्त क्षेत्रमा केबलकार योजना स्थगित गर्ने सहमतिपछि यतिबेला स्थिति सामान्य छ।

तर व्यापारी चन्द्र ढकालले पाथीभरा केवलकार निर्माणमा अवरोध गर्न खोज्ने कामले ताप्लेजुङका बासिन्दाको भविष्यमाथि खेलवाड भएको भन्दै सहानुभूति बटुल्न थालेका छन् । आज पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानीयलाई रोजगारी र नागरिकको जीवनस्तरमा सुधार ल्याउने आश्वासन दिन भ्याए । तर यसअघिचन्द्रागिरी लगायतका स्थानमा केबलकार बनाउँदा स्थानीयलाई दिएका आश्वासन अझैसम्म पुरा भएका छैनन्। त्यसमा पनि केबलकार योजना निर्माणका समयमा प्राविधिक नै चाहिने र निर्माण पश्चात यसमा खासै कामदार आवश्यक नपर्ने भएकाले स्थानीयलाई रोजगारी ढकालको ‘ललिपप’ मात्र हो।

चाकडी चाप्लुसी र उनलाई प्रश्न गर्नेहरुको मुख बन्द गर्न पैसाको खोलो बगाउने चन्द्र ढकालका लागि भुई मान्छे कहिल्यै प्राथमिकतामा नपर्ने चन्द्रागिरीका स्थानीयको गुनासो छ।

पत्रकार सम्मेलनमा उनले पाथिभरामा केबलकार बाहेक अन्य कुनै संरचना नबन्ने पनि भनेका छन् । तर यसअधि उनले चन्द्रागिरीमा केवलकार बनाउँदा पनि यसै भनेको तर हाल उक्त स्थानमा नेपालकै महँगा रोसोर्ट र रेस्टुरेन्ट खोलेर व्यापार गरिरहेको स्थानीयहरु बताउँछन्।

धर्ममाथि आस्था नहुनेको ढकालको नजर किन धार्मिक क्षेत्रमा

पछिल्ला केहि घटनालाई लिएर ढकालमाथि विभिन्न संका उपसंका पैदा भएको छ। धार्मिक क्षेत्र छानीछानी ढकालले किन व्यापार विस्तार गरिरहेका छन् भन्ने प्रश्न हरेक नेपालीले गरिरहेका छन्। व्यापारिक स्वार्थकै लागि चन्द्रागिरीमा नक्कली भालेश्वर खडा गरेर मन्दिर बनाउन भ्याएका ढकालको धर्म प्रति आस्था र विश्वास नभएको पुष्टि हुन्छ ।

पाथीभरामा पनि केबलकार बन्दा सबैभन्दा बढी पाथिभरा देवीकै आपमान हुने स्थानीयहरु बताउँछन्। पाथिभरामा यदि आस्था र विस्वास बोकेर दर्शन गर्न जाने हो भने यसका आफनी पुजा पद्दति छन् । पौराणिक मान्यताअनुसार पाथीभरा देवीको दर्शन गर्नुभन्दा पहिले ठूलो फेदीमा अवस्थित कान्छीमाताको दर्शन गनुपर्ने वैदिक परम्परा छ। कान्छी माताको दर्शन नगरी पाथिभराको दर्शन सिद्द नहुने हुँदा पहिले ठूलो फेदीमा रहेकी बहिनी कान्छीमाताको दर्शन गरेपछि मात्र माथि रहेकी दिदी पाथिभरालाई पुजा अर्चना गर्ने प्रचलन छ। तर, पाथीभरामा केबलकार बन्दा तल्लो फेदी काफ्लेपाटीबाट सिधै पाथिभरा पुगिने भएकाले यो धार्मिक आस्थामाथिको प्रहार र वैदिक पद्दतिको विरुद्द हुने भएकाले यस क्षेत्रमा केबलकार बन्नु अधार्मिक क्रियाकलाप भएको स्थानीयको गुनासो छ।

तर , पाथिभराको देवीको आस्था र विश्वासलाई समेत वेवास्ता गर्दै ढकालले जबर्जस्ती व्यापारिक हिसावले मात्रै केबलकार बनाउन खोज्नुले उनी कतै धार्मिक एवं सांस्कृतिक क्षेत्रको अतिक्रमणका मिसनमा त छैनन् भन्ने कोणबाट हेर्न थालिएको छ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार १८:५५   :  बजे

492
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।