काठमाडौं । सरकारी टोलीसँग वार्ता बिथोलिएसँगै ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा केबलकार बनाउन नहुने पक्षमा रहेको ‘नो केबलकार समूह’ ले सोमबार थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ ।
आइतबार भएको वार्ता विनानिष्कर्ष टुंगिएसँगै नो केबलकार समूहले सोमबार थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएको छ । वार्ता बिथोलिएसँगै नो केबलकार समूह माइतीघरमा भेला भएको थियो ।
आन्दोलनरत पक्षका प्रतिनिधि सन्तोष मेहेताका अनुसार मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता टोलीसँगमात्रै नो केबलकार समूह वार्तामा बस्ने छ । त्यसका लागि आज साँझसम्मको समय दिइएको उनले बताए ।
पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्काल रोक्नेबारे आन्दोलनरत पक्ष र सरकारबीच २२ माघमा सहमति जुटेको थियो । सहमति जुटेसँगै ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो । उक्त दिन भएको ६ बुँदे सहमतिमा माघ २७ (आज) पुन: विस्तृत छलफल गर्ने गरी सहमति जुटेको थियो ।
प्रतिक्रिया