Logo

प्रमुख समाचार

सत्तासँग जसपाको बार्गेनिङ !



काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमाले सत्ता गठबन्धनले संसद् छलेर ल्याएको अध्यादेश पारित हुने अवस्थामा देखिदैन ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र लगायत अन्य प्रतिपक्षी दलहरू पनि सरकारले ल्याएको अध्यादेशका विरुद्ध देखिएपछि सरकार अध्यादेश पारित नहुने प्रति सशंकित बन्दै गएको छ । सत्ता पक्षको प्रतिनिधि सभामा बहुमत रहेको भएपनि राष्ट्रिय सभामा सत्तापक्ष अल्पमतमा रहेको छ । राष्ट्रियसभामा नेपाली काँग्रेस १६, नेकपा एमालेका १० र लोसपाका १ सांसद छन् ।

राष्ट्रिसभामा सत्ता पक्षले बहुमत पुयाउन नसक्ने देखेपछि अन्य दलका सांसद र मनोनित सांसदहरूलाई फकाउने कसरतमा लागेको छ । राष्ट्रियसभामा रहेको ५९ सदस्य मध्ये सामान्य बहुतका लागि ३० सांसदको आवश्यकता पर्दछ । वामदेव गौतम, अञ्जना शाक्य र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल मनोनित सांसद हुन ।

उनीहरूलाई कुनै पनि राजनीति दलको ह्वीप नलाग्ने भएपछि सत्तापक्षलाई बहुमत पुयाउन असहज देखिएको छ । प्रमुख प्रतिपक्ष दल माओवादीका १७ एकीकृत समाजवादी पार्टीबाट आठ र जनमोर्चाका एक सांसद गरी २८ सांसद प्रतिपक्षमा छन् ।

बाँकी तीन सांसद जसपा नेपालका रहेकाले सत्तारुढ दलका नेताहरू नेपाली काँग्रेस सभापति शेरबहादुर र प्रधानमन्त्री केपी ओलीले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई अध्यादेश पास गराउन के-कस्ता शर्त पूरा गर्नुपर्ने हो प्रस्ताव लिएर आउनुस् भन्ने ललिपप देखाएका छन् ।

तीन सांसद रहेको जसपाले यतिबेला सत्तारोहण गर्ने अवसर पाएको छ । जसपा अध्यक्ष यादव राष्ट्रिय राजनीतिमा आएदेखि नै सत्ता बिना टिक्न नसक्ने नेता र पार्टीका रूपमा परिचित बन्दै आएका छन् ।

पछिल्लो समय आफूले चाहेजस्तो भागवण्डा र मन्त्रालय नपाएका कारण उक्त पार्टी सत्ताबाहिर रहन बाध्य भएको छ । विगतका गठबन्धन सरकारहरूमा सत्तापक्ष बनेको जसपा ओली नेतृत्वको सरकार गठन हुँदा पनि सत्तापक्षीय बन्न भरमग्दुर प्रयत्न नगरेको होइन ।

भागवण्डा नमिलेका कारण र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका समय पार्टी विभाजन भएपछि आफूबाट विभाजित अशोक राई नेतृत्वका जसपा वर्तमान सरकारमा सम्मिलित भएपछि नैतिकताका आधारमा पनि यादव नेतृत्वको जसपा सत्तामा जान नसकेको हो।

अध्यादेश जारी भएपछि संसद्र बैठक सुरु भएको पहिलो बैठक राष्ट्रिपतिद्वारा स्वीकृति भएका भइसक्नु पर्ने थियो । सत्तारुढ दलहरूका स्वार्थका लागि ल्याइएका अध्यादेश संसद्बाट पारित नहुने अवस्था देखेपछि सरकारले प्रतिनिधिसभामा अध्यादेश पेश गर्न सकेको छैन ।

राष्ट्रियसभामा अल्पमतमा रहेको सत्ता गठबन्धन सत्ताबाहिर रहेका सांसदहरूलाई फुटाएर वा पार्टीलाई सत्तामा भित्र्याएर भए पनि अध्यादेश पारित गराउन योजनामा रहेको भएपनि जसपाका अध्यक्ष यादवले सत्तापक्षलाई सघाउने वा नसघाउने भन्ने निर्णय नगर्दा सरकारले प्रतिनिधिसभामा अध्यादेश पेस गर्न नसकेको हो ।

प्रधानामन्त्री ओली र काँग्रेसभापति देउवाले जसपा अध्यक्ष यादवलाई केही दिन अगाडि बालुवाटारमा बोलाएर सरकारमा आउन आग्रह गरेका थिए । जसपा सरकारमा आउनका लागि वातावरण सहज बनाउन आग्रह गरेका यादव सुटुक्क सरकारमा जान असहज परिस्थिति रकेका कारण सत्तापक्षका नेताहरूलाई निश्कर्ष दिन नसकि फर्किएका थिए।

सत्तामा गएर अध्यादेश पारित गर्न सहयोग गर्ने वा नगर्ने विषयमा पार्टीमा छलफल गरी कार्यदल बनाएर अगाडि बढ्ने सोच बनाएका यादवले अध्यादेश बारे अध्ययन गर्न कार्यदल बनाएका छन्। कार्यदलको संयोजकमा राजकिशोर यादवलाई अगाडि सारेर अध्यक्ष यादवले सत्तारुढ दलका नेताहरूसँग अध्यादेश पारित गर्न समर्थन गर्ने कि नगर्ने बार्गेनिङ्ग गर्दै आएको छ ।

सत्तापक्षसँग वार्गेनिङ्ग मिलेको खण्डमा सरकारमा गएर अध्यादेशको समर्थन गर्ने मनस्थितिमा यादव रहेको भएपनि जसपाका कतिपय नेता र सांसदहरू अध्यादेशको विपक्षमा रहने संकेत गरेका छन् । अध्यादेश पारित गर्न जसपा राष्ट्रिय सभामा निर्णयक पार्टी हो । राष्ट्रिय सभामा तीन सिट भएको जसपाले सत्तापक्षलाई समर्थन जनाएको खण्डमा सहज रूपमा अध्यादेश स्वीकृत हुने अवस्था छ ।

अध्यादेश पारित गर्न सरकारलाई समर्थन गरेपनि जसपा सरकारमा सहभागी नहुँदा पार्टीभित्र विचलन आउने भय त्यतिकै रहेको छ ।

काँग्रेस सभापति देउवा र प्रम ओलीसँग बैठकमा बसेका यादवले निर्णय दिन नसक्दा सत्तापक्ष चिन्ति बनेको छ भने बार्गेनिङ्ग मिलाउनका लागि यादवले राजकिशोर यादवको अध्ययन कार्यदल बनाएर पार्टी भित्रको सन्तुलन मिलाउने प्रयत्न गर्दै आएका छन् ।

राजकिशोर यादव नेतृत्वको कार्यदलमा मृगेन्द्रकुमार सिंह, रेखा यादव र दिपक कार्की सदस्य रहेका छन् । कार्यदलले विज्ञहरूसँग परामर्श गरेर अध्यादेश स्वीकृत गर्ने वा नगर्ने भन्ने निश्कर्ष निदेछन् कार्यदलको सुझावका आधारमा निर्णय गर्ने जसपाले तयारी गरिएको भनिएपनि राजनीतिक लाभ उठाउने रणनीतिमा अध्यक्ष यादव देखिएका छन् ।

संघीय र प्रदेश दुबै सरकारमा बाहिर रहेका जसपाले सत्तारोहणको केही सुनिश्चितता भए सत्तापक्षलाई सघाउने रणनीति अध्यक्ष यादवले लिएका खबर गोलमेचमा उल्लेख छ । राष्ट्रिय राजनीतिमा निर्णायक भएको मौकामा मधेशमा गुमेको सरकार फर्काउने जसपाको वार्गेनिङ्ग सफल होला नहोला । जसपा अध्यक्ष यादव मधेस प्रदेश फर्काउने प्रयत्नमा मात्र छैनन ।

उनी संघीय सरकारमा महत्वपूर्ण मन्त्रालय लिने वार्गेनिङसमेत गरिरहेका छन् । उनले चाहेजस्तो संघमा महत्वपूर्ण मन्त्रालय र मधेस प्रदेशमा मुख्यमन्त्री पद पाएभने सत्तापक्षलाई सहजरूपमा सघाउने निश्चित देखिन्छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलवार ०७:००   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।