Logo

गण्डकी प्रदेश

राजालाई दरबार छिराउछौं : लिङ्देन



पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले २०६३ सालमा विस्थापित भएका राजालाई नारायणहिटीमै पुनः स्थापित गराउन राप्रपा तयार रहेको बताएका छन् । पोखरामा भएको विरोध सभालाई सम्बोधन गर्दै उनले राजसंस्था फर्काउने आन्दोलन गरेपछि कुनै शक्तिले रोक्न नसक्ने चेतावनी दिए ।

‘निर्मल निवास र नारायणहिटीको दुरी कति छ ? जसरी राजालाई जबरजस्त विस्थापित गर्नुभयो । निर्मल निवासबाट दोहोर्‍याउँदै नारायणहिटी पुर्याउन तयार छौँ,’ उनले भने, ‘त्यसबेला कुनै शक्तिले रोक्न सक्दैन । सामान्य नसम्झनुहोला ।’

उनले कांग्रेस र एमालेलाई लचिलो भएर राजसंस्था पुनर्स्थापना जुट्न आग्रह गरेका छन् । ‘तपाईँहरू लचिलो पार्टी हो, हिजो गल्ती भएछ भन्ने स्वीकार गर्नुहुन्छ भन्ने आसा गर्छु,’ उनले भने, ‘तर तपाईँहरूले देशलाई जबरजस्त यसरी लान्छु भन्ने ठान्नुहुन्छ भने देश यसरी चल्दैन । जनता पनि चुप लागेर बस्दैन ।

राप्रपाले छिनोफानोका लागि तपाईंहरुविरुद्ध आन्दोलनको नेतृत्व गर्छ ।’ लिङ्देनले राजसंस्थालाई अभिभावकी संस्थाको रूपमा राखेर नेपालको मौलिक राज्य व्यवस्था लागू गर्न सकिने प्रस्ताव गरे ।

अभिभावकी संस्थाको रूपमा राजालाई राख्नुपर्‍यो । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था मिलाउनुपर्‍यो । अरूको नक्कल गर्दा हामीले दुख पाएको हो ।

अब दुनियाँमा के छ होइन, हामीलाई के ठिक हुन्छ भनेर मौलिक व्यवस्था निर्माण गर्नुपर्‍यो,’ उनी भन्छन्, ‘प्रदेश खारेजी, पूर्ण समानुपातिक संसद् र सांसदले मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्‍यो ।’

हिजोका राम्रा र अहिले भइरहेका राम्रा एजेण्डालाई राखेर अग्रगामी व्यवस्थाको परिकल्पना गर्नुपर्ने उनको सुझाव छ । भ्रष्टाचार सबै तहमा व्याप्त रहेको उनको आरोप छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार ०७:५४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।