Logo

अर्थ

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त



काठमाडौं । नेपाल बीमा प्राधिकरणको रिक्त रहेको अध्यक्ष पदमा शरद ओझा नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको आज बसेको बैठकले ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । योसँगै प्राधिकरणको इतिहासमै कान्छो अध्यक्षका रुपमा ओझा नियुक्त भएका छन् । उनी पूर्वपत्रकार पनि हुन् ।

अध्यक्ष नियुक्तिका लागि सरकारद्वारा गठित सिफारिस समितिले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाको नाम मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको थियो । कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता फागुन १० गते अर्थ मन्त्रालयमा गरिएको थियो ।

समितिको गत फागुन ४ गतेको निर्णयानुसार सर्टलिस्टमा कमलप्रसाद रेग्मी, चिरिञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा परेका थिए । कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि प्राप्त अंकका आधारमा पहिलो नम्बरमा शरद ओझा, दोस्रोमा रामशरण पुडासैनी र तेस्रोमा दामोदर बस्यौलाको नाम सिफारिस गरिएको थियो ।

मन्त्रिपरिषदको बैठक सोमबार साँझ बालुवाटारमा बसेको थियो । मन्त्रिपरिषद्को बैठकले ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । सम्भवतः ओझाले भोलि प्राधिरणको अध्यक्षको शपथ ग्रहण गरेर कार्यभार सम्हाल्नेछन् ।

ओझा स्नातक तहमा व्यवस्थापनसम्बन्धी विषयको अध्यापन गर्छन् भने अधिवक्ता, वित्त परामर्शदाता र पूर्वपत्रकार पनि हुन् । उनी स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक बसौला र नेपाल सरकारका पूर्वसचिव एवं कृषि विकास बैंकका अध्यक्ष पुडासैनीलाई पछि पार्दै अध्यक्षमा नियुक्त भएका हुन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार २१:५२   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।