काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यलयले देशभरीका कुनै पनि प्रहरी युनिटमा सादा पोशामा घुमुवा खटाउन नपाउने निर्देशन र परिपत्र जारी गरेको लामो समय भएको छ ।
वर्तमान प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर मधेश प्रदेशको प्रहरी प्रमुख भएदेखि नै सादा पोशाकमा काजमा खटाइएका घुमुवा हटाउने अभियान सुरु गरेका थिए ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुंवरको सेवावधि २२ दिन मात्र बाँकी छ । आइजीपी भएपछि पनि मधेश प्रदेशका जिल्लामा काजमा घुमुवा राख्न रोकेका आइजीपी कुँवरको अवकाशको मिति नजिकिएसँगै बागमती प्रदेशका डिआइजी कृष्णहरि शर्माले नाका नाकामा घुमुवा तैनाथ गरी माटो राकम असुली गरेको आरोप लाग्दै आएको छ ।
चितवनको लोथर, मकवानपुरको भैंसे, चौकीटोल हुँदै रातोमाटे चेक पोष्टबाट प्रहरीकै सेटिङमा ठूलो परिमाणका गाँजा भारततर्फ तस्करी गराउने गरेका छन् ।
मधेश प्रदेशबाट मकवानपुरको ठिंगन हुँदै नक्कली बिलबिजक देखाएर चिनीदेखि कपडा तस्करीका माध्यमबाट काठमाडौंलगायतका ठूला सहरहरूमा सामान ओसार पसार भइरहेका छन् ।
तस्करीको लाइन चलाउन डिआइजी शर्माले नै लोथर र रातोमाटेमा काजमा इन्चार्जदेखि सिपाहीसम्म लगेर राखेको आरोप छ । रातोमाटे चेकपोष्टमा अन्यत्रै दरबन्दी भएका हवल्दार विनय चौधरीलाई राखेर खुलेआम गाँजा तस्करी हुँदै आएको छ ।
चितवन र मकवानपुरका गाउँ गाउँबाट रातोमाटे हुँदै दैनिक सयौं टन गाँजा भारततर्फ जाने गरेको छ । नेपालबाट गएको गाँजा भारतमा पटक- पटक बरामद हुँदै आएको पनि छ ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयबाट गएको माघ १८ गते सरुवा भएका असई राजेशप्रसाद साहलाई डिआइजी शर्माले नै रमाना नदिन दबाब दिएको बताइन्छ । साहको प्रहरी चौकी लमजुङको चितीमा सरुवा भएको छ ।
तर, डिआइजी शर्माकै दबाबमा मकवानपुरका एसपी विश्वराज खड्काले उनलाई रमाना दिनसकेका छैनन् । उल्टै डिआइजी शर्माले असई साहलाई सुरुमा बसपार्क, त्यसपछि भैसे र त्यहाँ पनि नभए हेटौंडाको चौकी टोल प्रहरी चौकीमा सरुवा गर्न दबाब दिएका थिए।
तर, एसपी खड्काले साहको छवि राम्रो नभएकाले सरुवा गर्न सकेका छैनन् । डिआइजी शर्माले महोत्तरी दरबन्दी भएका सिपाही अमिता पटेललाई पनि सचिवालयमा राखेका छन् ।
त्यसो त यसअघि ललितपुरमा दरबन्दी भएका सई बृजेशकुमार चौधरी र महोत्तरी दरबन्दी भएका वरिष्ठ सई राजेश यादवलाई रातोमाटे चेकपोष्ट र लोथरमा काजमा ल्याएर इन्चार्ज बनाएका थिए ।
तर, धेरै विवाद भएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा उनीहरूलाई तानिसकिएको छ ।
सात महिनापछि अवकाश हुने डिआइजी शर्मा बागमतीमा सरुवा हुना साथ कमाउ धन्दामा लागेको र काजमा प्रहरी ल्याउँदै असुलीमा लगाएको आरोप लागेको मात्र छैन उनको वास्तविक धन्दा नै घर जानेबेला रकम असुलेर आफू मोटाउने र आफ्ना नजिककालाई पनि नजराना चढाउने ध्याउनमा डिआइजी शर्मा लागेका छन् ।
सीमा क्षेत्रमा सशस्त्रको असुली
सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी हेडक्वाटर बाँके मातहतमा पर्ने चौलीका पोस्टमा खटिएका एक हवल्दार मादक पदार्थ सेवन गरेर ड्युटीमा बसेको तथा तस्करहरूसँग मिलेमतो गरेको आरोप लागेको छ ।
चौलीका पोस्टमा असईको कमाण्डमा खटिएका हवल्दार सेरे सोनार मापसे अवस्थामा रहेर ड्युटी गर्दै आएका छन् ।
उनले स्थानीय नागरिकलाई अनावश्यक रूपले दुःख दिने, उनीहरूले ल्याएका घरायसी प्रयोजनका सामान खोस्ने तथा अवैध सामान ओसारपसार गर्ने तस्करहरूसँग सेटिङ गरेर उनीहरूका सहज रूपमा सामान पार गरिदिने गरेका छन् ।
हवल्दार सोनारले रातिको समयमा तस्करहरूलाई चौलीका पोस्ट पार गर्न सघाउने र सो को बदलामा आर्थिक लाभ लिने गरेको बताइएको छ । उनी मापसे गरेर सुरक्षाको संवेदनशील जिम्मेवारीमा खटिनु मात्रै होइन, ड्युटीको समयमा व्यक्तिगत फाइदाका लागि तस्करीहरूलाई बढावा दिनेसम्मको गतिविधिमा संलग्न भएको खुलेको खबर गोलमेचमा उल्लेख छ ।
यस घटनाले सशस्त्र प्रहरी बलको छवि धुमिल बनाएको भन्दै स्थानीयहरू आक्रोशित बनेको भएपनि उनीहरूको आवाज सशस्त्र प्रहरीका सम्बन्धित कुनै पनि निकायले वेवास्ता गर्नलाई अर्थ पूर्णरुपमा लिन थालिएको छ ।
सुरक्षामा खटिएका व्यक्तिहरू नै गैरकानुनी क्रियाकलापमा संलग्न हुनु गम्भीर विषय भएको भन्दै सम्बन्धित निकायलाई कारबाहीका लागि स्थानीयले माग गर्दै आएका छन् ।
३० नम्बर गण बागेश्वरी हेडक्वाटर बाँके सशस्त्र प्रहरी उपरीक्षक एसपी शोभानाथ खनालले घटनाको अनुसन्धानमा यदि हवल्दार सोनार दोषी ठहरिए कडा कारबाही गरिने बताउँदै आएपनि सोनारले संकलन गरेको घुस रकम एसपीसम्म पुग्ने गरेको आशंका गर्न थालिएको छ ।




















प्रतिक्रिया