एजेन्सी । गुजरात टाईटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सलाई ३६ रनले हराएको छ ।
शनिवार भएको खेलमा गुजरातले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो ।
मुम्बईका लागि सुर्यकुमार यादवले सर्वाधिक ४८ रन जोडे । उनले २८ बलको सामना गर्दै १ चौका र ४ छक्का प्रहार गरे ।
तेस्रो विकेटका लागि सुर्यकुमारले तिलक बर्मासँग मिलेर ६१ रनको साझेदारी गरे । तिलक ३६ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३९ रनमा आउट भए । कप्तान हार्दिक पाण्ड्या १७ बलमा ११, रोहित शर्मा ४ बलमा ८ तथा रायन रिकल्टन ९ बलमा ६ रनमा आउट भए ।
नमन धीर ११ बलमा ३ चौकाको सहयोगमा १८ रनमा अविजित रहे । मिचेल सान्टनर ९ बलमा १ चौका र २ छक्काको सहयोगमा १८ रनमा नट आउट रहे ।
गुजरातका लागि मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले समान २ तथा साइ किशोर र कागिसो रबडाले समान १ विकेट लिए ।
त्यसअघि घरेलु मैदान नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गरेको थियो ।
गुजरातका लागि अघिल्लो खेलमा समेत अर्धशतक बनाएका ओपनर साई सुदर्शनले सर्वाधिक ६३ रन जोडे । उनले ४१ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे ।
पहिलो विकेटका लागि साईले कप्तान शुभमन गिलसँग मिलेर ८.३ ओभरमा ७८ रनको साझेदारी गरे । कप्तान गिल २७ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३८ रन जोडेर आउट भए ।
जोस बटलर २४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३९ रनमा आउट भए । राहुल तिवाटिया कुनै बलको सामना नगर्दै रन आउट भए ।
साहरुख खान ९ रनमा आउट हुँदा शरफेन रादरफोर्ड ११ बलमा २ छक्काको सहयोगमा १८ रन बनाउँदै आउट भए । राशिद खान ४ बलमा ६ रनमा आउट हुँदा कागिसो रबडा ७ रनमा अविजित रहे ।
मुमबईका लागि कप्तान हार्दिक पाण्ड्याले २ तथा सत्यनारायण राजु, मुजिब उर रहमान, ट्रेन्ट बोल्ट र दिपक चहरले समान १ विकेट लिए ।
जितसँगै गुजरातले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ । आफ्नो पहिलो खेलमा गुजरात पञ्जाब किंग्ससँग पराजित भएको छ ।
मुम्बईको भने यो लगातार दोस्रो हार हो । मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग चेपकमा पराजित भएको थियो । मुम्बईले गुजरातसँग नरेन्द्र मोदी क्रिकेट स्टेडियममा खेलेको सबै ४ खेलमा हार बेहोरेको छ ।




















प्रतिक्रिया