काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल कम्पनी मेटा (Meta) लाई सात दिनभित्र नेपालमा दर्ता हुन चेतावनी दिएका छन् ।
शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित तीनपटकसम्म सूचना जारी गरे पनि नमानेको जानकारी गराउँदै उनले अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए ।
‘तीन पटक सूचना जारी गरियो, तर कुनै प्रतिक्रिया आएन,’ मन्त्री गुरुङले भने, ‘अब सात दिनभन्दा बढी म दिन्न। यदि त्यसबीचमा दर्ता भएन भने मेटामाथि नेपालमा प्रतिबन्ध लगाइन्छ।’
मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो ।
मन्त्री गुरुङका अनुसार मेटाका विभिन्न सेवा-जस्तै फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, र इन्ट्राग्राम-नेपालमा अत्यधिक प्रयोगमा छन् । उनले यो माध्यमबाट नेपालका प्रयोगकर्ताबाट प्रत्येक घण्टा हजारौं रुपैयाँ मेटाको मुख्यालयतर्फ गइरहेको उल्लेख गर्दै यस्ता सेवा नेपालमा दर्ता भएर कर तिर्नुपर्ने आवश्यकता औंल्याए । ‘हामीले पलपलमा पैसा मेटालाई पठाइरहेका छौं, तर उनीहरू नेपालमा दर्ता पनि हुन चाहँदैनन्,’ मन्त्री गुरुङले भने, ‘मुलुकको स्वाधीनता पैसामा जोडिँदैन। कर तिर्नुपर्छ, नियमनमा आउनुपर्छ।’





















प्रतिक्रिया