काठमाडौं । पाकिस्तानले भारतमाथि लगातार दोस्रो दिन पनि ड्रोन र मिसाइल आक्रमण गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार जम्मू कश्मीर, पञ्जाब र राजस्थान राज्यका ११ भन्दा बढी सहरहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको हो ।
जम्मू कश्मीरमा जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा र अरनिया क्षेत्रमा ड्रोन आक्रमण भएको बताइएको छ । यसका साथै पञ्जाबको पठानकोट र राजस्थानको जैसलमेर तथा पोखरण पनि पाकिस्तानी ड्रोनको निशानामा परेका छन् ।
पाकिस्तानी ड्रोनले जम्मू विमानस्थल र पठानकोटस्थित भारतीय वायुसेना स्टेसनलाई लक्षित गरेको भए पनि भारतीय वायु रक्षा प्रणालीले ती आक्रमणलाई सफलतापूर्वक निष्क्रिय पारेको दाबी गरिएको छ । जैसलमेरमा भएको आक्रमणपछि राजस्थानका सबै सीमावर्ती क्षेत्रमा पूर्ण ब्ल्याकआउट गरिएको छ ।
सुरक्षाको दृष्टिकोणले जम्मू कश्मीर, पञ्जाब र राजस्थान राज्यहरूमा उच्च सतर्कता जारी गरिएको छ । पञ्जाबको जालन्धर र अमृतसर, साथै राजस्थानको बीकानेर र श्रीगंगानगरमा पूर्ण अन्धकार छ। यस्तै, जम्मू, किस्तवाड, अखनूर, साम्बा र पठानकोटमा पनि पूर्ण ब्ल्याकआउट गरिएको छ ।
आरएस पुरा क्षेत्रमा पाकिस्तानतर्फबाट भारी गोलीबारी भइरहेको जनाइएको छ । स्थानीय बासिन्दाहरूका अनुसार धेरै स्थानमा विस्फोटको ठूलो आवाज सुनिएको छ । साथै, नियन्त्रण रेखानजिकै कुपवाडा र बारामुल्ला क्षेत्रमा दुवै पक्षबीच तीव्र गोलीबारी भइरहेको समाचार प्राप्त भएको छ ।




















प्रतिक्रिया