Logo

कर्पोरेट फोकस

‘नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल सबैका गभर्नर बनुन्’



काठमाण्डौं । नेपाल राष्ट्र बैंकको नयाँ नेतृत्वका रूपमा प्रा. डा. बिश्वनाथ पौडेलको गभर्नर पदमा नियुक्ति भएको समाचारले देशको आर्थिक वृत्तमा नयाँ आशा र अपेक्षा जागेको छ । वर्तमान अवस्थामा मुलुक आर्थिक चुनौती, अस्थिरता र संक्रमणको चरणमा छ । यस्तो संवेदनशील घडीमा बिश्व पौडेलजस्तो अनुभवी, इमानदार र गहिरो अध्ययनशील व्यक्तित्वको गभर्नर पदमा आगमन हुनु सकारात्मक संकेत हो ।

नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक मात्र नभई सम्पूर्ण वित्तीय प्रणालीको मेरुदण्ड हो । त्यसैले यसको नेतृत्वले नीति निर्माणदेखि कार्यान्वयनसम्म गम्भीर प्रभाव पार्ने गर्दछ । गभर्नरको हैसियतले पौडेलज्यूले राजनीतिक दबाबभन्दा माथि उठेर निष्पक्ष र परिणाममुखी निर्णय लिन सक्नुपर्छ । देशका विभिन्न क्षेत्र, समुदाय र वर्गका जनताले आफूलाई समेटिएको अनुभूति गर्न पाउने गरी वित्तीय पहुँच, सहुलियतपूर्ण ऋण, मुद्रास्फीति नियन्त्रण र विदेशी मुद्राको स्थायित्वजस्ता सवालमा दीर्घकालीन सोचका साथ काम गर्नु आजको आवश्यकता हो ।

गभर्नर पौडेल अर्थशास्त्र र वित्त क्षेत्रमा लामो अनुभव बोकेका व्यक्तित्व हुन् । उनमा सैद्धान्तिक अध्ययन र व्यवहारिक कार्यदक्षता दुवै पक्ष सन्तुलनमा देखिन्छ । यसअघि पनि उनले विभिन्न सरकारी तथा अर्धसरकारी संस्थाहरूमा उल्लेखनीय योगदान पुर्‍याएका छन् । अब भने उनको अग्निपरिक्षा राष्ट्र बैंकको गभर्नर पदमा हुनेछ, जहाँ हरेक निर्णयले करोडौं जनताको जीवनस्तरमा असर पार्नेछ ।

हामी अहिले निर्यातभन्दा आयात बढ्दो अवस्थामा छौं । विदेशी मुद्रा सञ्चिति घट्दो क्रममा छ । रेमिट्यान्समा केही सुधार भए तापनि दीर्घकालीन आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि त्यसले मात्र पुग्दैन । बैंक तथा वित्तीय संस्थामा देखिएका विविध समस्या, तरलता संकट, उच्च ब्याजदरले निजी लगानी घटेको अवस्था, यस्ता चुनौतीबीच गभर्नर पौडेलको कार्यकाल सुरु भएको छ । यसका लागि यथार्थमा आधारित नीति, सूक्ष्म अनुगमन, वित्तीय अनुशासनको कडाइ र डिजिटल वित्तीय पहुँच विस्तारमा उनको सक्रियता अपरिहार्य रहनेछ ।

त्यस्तै, राष्ट्र बैंकको नीति नीतिगत स्पष्टता, पारदर्शिता र उत्तरदायित्वमूलक हुन जरुरी छ । विगतमा कतिपय निर्णयहरू विवादास्पद मात्र नभई अस्थायी प्रकृतिका देखिए । अबका दिनमा स्थायित्व, विश्वास र प्रभावशीलतामा जोड दिनु गभर्नरको प्रमुख जिम्मेवारी हुनेछ । खासगरी व्यवसाय, उद्योग, निर्यातकर्ता, लघु तथा मझौला उद्यमीहरूलाई सहज वातावरण सिर्जना गर्नु पर्नेछ ।

बैंकिङ प्रणालीमा डिजिटल ट्रान्जेक्सनको उपयोगिता बढेको वर्तमानमा साइबर सुरक्षादेखि लिएर ग्राहक सेवा सुधार, फाइनान्सियल लिटरेसी प्रवर्द्धनसम्मका सवालमा राष्ट्र बैंकको अग्रसरता अपेक्षित छ । ग्रामीण क्षेत्रसम्म वित्तीय पहुँच पुर्‍याउन सहकारी, लघुवित्त र मोबाइल बैंकिङजस्ता माध्यमहरूलाई नीति समर्थन आवश्यक छ । यी कार्यहरूमा गभर्नर पौडेलले दीर्घकालीन दृष्टिकोणसाथ पहल गर्ने आशा गरिएको छ ।

गभर्नरले राजनीतिक हस्तक्षेप, आर्थिक माफियाको दबाब र जनतामा निराशा छर्ने खालका अफवाहबाट माथि उठेर काम गर्नुपर्छ । राष्ट्र बैंकको आत्मनिर्भरता, विधिसम्मतता र स्वतन्त्रतामा आँच आउन नदिनु उनको पहिलो दायित्व बन्न जान्छ ।

नेपालको आर्थिक सुधार केवल कुनै एक व्यक्तिको प्रयासले सम्भव छैन । तर नेतृत्व सही दिशामा गएमा त्यसले सम्पूर्ण प्रणालीलाई मार्गदर्शन गर्न सक्छ । त्यसैले सबै पक्षको अपेक्षा छ— डा. पौडेल केवल सरकारको होइन, केवल राष्ट्र बैंकको होइन— सबै नेपालीको गभर्नर बन्न सकून् ।

उनको कार्यकाल पारदर्शी, समावेशी, उत्तरदायी र दीर्घकालीन दृष्टिकोणयुक्त होस् । वित्तीय साक्षरतादेखि लिएर उद्यमशीलता प्रवर्द्धनसम्म, मुद्रास्फीति नियन्त्रणदेखि रोजगारीमूलक वित्तीय नीतिसम्म, सबै क्षेत्रमा उनले उदाहरणीय नेतृत्व देखाउन सकून् भन्ने शुभकामना व्यक्त गर्दछु ।

आजको चुनौतीपूर्ण आर्थिक परिवेशमा गभर्नरको भूमिका केवल आर्थिक नीतिका निर्देशकको मात्र होइन, जनविश्वासका संयोजकको रूपमा पनि महत्वपूर्ण छ । यसर्थ, हाम्रो कामना छ —’गभर्नर बिश्व पौडेल सबैको गभर्नर बनुन्’ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहीबार १३:०५   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।