काठमाडौं । काठमाडौंको नारायणहिटी दरबार संग्रहालय क्षेत्र आसपासका स्थानहरूलाई जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको छ। राजावादी आन्दोलन तीव्र बन्दै गएपछि सरकारले सुरक्षाका कारण देखाउँदै यो कदम चालेको हो।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै नारायणहिटी दरबार संग्रहालय क्षेत्र, केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट, जय नेपाल मोड, महेन्द्र सालिक क्षेत्रसम्म निषेधाज्ञा लागू हुने जनाएको छ। निषेधाज्ञा भोलि जेठ १७ गतेदेखि लागू भई असार २४ गतेसम्म कायम रहनेछ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३(क) अनुसार जिल्ला सुरक्षा समितिको सिफारिसमा निषेधाज्ञा लागू गरिएको हो। निषेधाज्ञा अवधिभर ५ जना भन्दा बढी भेला, अनशन, धर्ना, प्रदर्शन, जुलुस, सभाजस्ता गतिविधिमा रोक लगाइएको प्रशासनले जनाएको छ।
राजावादी समूहले जेठ १६ गतेदेखि काठमाडौंमा राजसंस्थाको पुनर्स्थापना, हिन्दु राष्ट्रको घोषणा र संघीयताको खारेजीको मागसहित आन्दोलन सुरु गरेका छन्। आन्दोलनको नेतृत्व राप्रपाका नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाही र अध्यक्ष राजेन्द्र लिङ्देनले लिएका छन्।
राजावादी पक्षले आन्दोलन अनिश्चितकालीन हुने बताउँदै माग पुरा नभएसम्म आन्दोलन नरोकिने अडान लिएको छ। उनीहरूको उपस्थितिलाई मध्यनजर गर्दै सरकार र सुरक्षा निकाय थप सतर्क बनेको छ। प्रशासनले सम्भावित अप्रिय घटना रोक्न तथा सार्वजनिक सुरक्षा सुनिश्चित गर्न निषेधाज्ञा लागू गरिएको स्पष्ट पारेको छ।
यसअघि प्रधानमन्त्री केपी ओलीले काठमाडौं कब्जा हुन नदिने चेतावनी दिएका थिए भने राजावादी नेताहरूले जनताको समर्थन आफ्नो पक्षमा रहेको दाबी गर्दै आन्दोलन जारी राख्ने घोषणा गरेका छन्।




















प्रतिक्रिया