हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) विजेता रोयल च्यालेन्जर्स बैंगलुरु (RCB) को विजयी परेडमा भागदौड हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
घटना बैंगलुरुको चिन्नास्वामी स्टेडियम नजिक सोमबार साँझ भएको हो। आरसीबीको पहिलो आईपीएल उपाधि जितेपछि आयोजित भव्य विजय उत्सवमा हजारौं समर्थक सहभागी भएका थिए। भीड अत्यधिक भएपछि स्टेडियम प्रवेशद्वारमा एक्कासी भागदौड मच्चिएको हो।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार धेरै घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्नेछ। घटनास्थलमा तत्काल उद्धार कार्य सुरु गरिएको थियो भने एम्बुलेन्सहरूमार्फत घाइतेहरूलाई अस्पताल पठाइएको छ।
प्रत्यक्षदर्शीहरूले बताए अनुसार कतिपय समर्थक भीडको चापका कारण अचेत भए, केहीलाई स्थानीयले सीपीआर (CPR) दिइरहेका दृश्य पनि देखिएको थियो।
कर्नाटकका मुख्यमन्त्रीका राजनीतिक सचिव नासिर अहमदले अत्यधिक भीडले स्थिति नियन्त्रण बाहिर गएको र व्यवस्थापनमा समय नपुग्दा दुर्घटना भएको बताए। उनका अनुसार सुरक्षाकर्मीहरू थप परिचालन गरिएको छ र स्थिति नियन्त्रणमा लिन प्रयास जारी छ।
कर्नाटक राज्य क्रिकेट संघले ऐतिहासिक उपाधि जितेको अवसरमा यो विशेष अभिनन्दन समारोह आयोजना गरेको थियो। आयोजकले भिड व्यवस्थापनका लागि पर्याप्त तयारी नगरेको आरोप लागेको छ।
यता, कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले मृतकको संख्याबारे औपचारिक पुष्टि गर्न बाँकी रहेको बताएका छन्। तर, भाजपा कर्नाटक प्रदेश अध्यक्ष बीवाई विजयेन्द्रले कम्तीमा ११ जनाको ज्यान गएको दाबी गरेका छन्।
भीड नियन्त्रणका लागि प्रहरीले हल्का लाठीचार्ज गर्नुपरेको थियो भने आयोजक तथा सुरक्षाकर्मीहरू अहिले घटनाको छानबिनमा संलग्न छन्।
यो घटना आरसीबी समर्थकहरूका लागि हर्षोल्लासको दिनलाई शोकमा परिणत गराएको छ।




















प्रतिक्रिया