काठमाडौं । लगानी बोर्ड नेपालको ६४औँ बैठकले चार ठूला परियोजनाका लागि करिब एक खर्ब १७ अर्ब ४० करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।
बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार, बैठकले तीन जलविद्युत् परियोजना तथा एक केबलकार परियोजनाको लगानी प्रस्ताव स्वीकृत गरेको हो। तीमध्ये सबैभन्दा ठूलो परियोजना बझाङको माथिल्लो सेती जलविद्युत् आयोजना (२१६ मेगावाट) हो। यसबाहेक बकान खोला (४४ मेगावाट) र छिलुङ खोला (४३.२ मेगावाट) जलविद्युत् आयोजना पनि समावेश छन्। यी तीन आयोजनामा मात्र करिब ५९ अर्ब ७६ करोड रुपैयाँको लगानी प्रस्ताव स्वीकृत गरिएको हो।
त्यस्तै, मुक्तिनाथ केबलकार परियोजना (८१.०४१ किमी) मा ५७ अर्ब ६४ करोड रुपैयाँ लगानी स्वीकृत गरिएको छ। यो नेपालको अहिलेसम्मकै सबैभन्दा लामो प्रस्तावित केबलकार योजना हो।
बैठकले माथिल्लो सेती र मुक्तिनाथ केबलकार परियोजनाका लागि प्रस्तावक कम्पनीहरूसँग परियोजना विकास सम्झौता (PDA) को विषयमा वार्ता गर्न कार्यकारी अधिकृतको संयोजकत्वमा छुट्टाछुट्टै वार्ता समिति गठन गर्ने निर्णय गरेको छ।
यस्तै, बोर्डले आईसीटी पार्क परियोजनालाई स्वीस च्यालेञ्ज अवधारणाअनुसार प्रतिस्पर्धा गराई अगाडि बढाउने निर्णय पनि गरेको छ।
बैठकले पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना (८०० मेगावाट) को भारतीय कम्पनी एनएचपिसी लिमिटेडबाट प्राप्त अन्तिम विस्तृत परियोजना प्रतिवेदन (DPR) लिएको र अब वित्तीय ढाँचाबारे थप अध्ययन गरी आगामी बैठकमा निर्णय लिने जानकारी दिएको छ।
त्यसैगरी, बैठकले कोरियन रेल बोर्ड कर्पोरेसन सँग सहकार्य गर्न रेलमार्गसम्बन्धी समझदारीपत्र (MoU) तयार पारेर मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय पनि गरेको छ।
लगानी बोर्डको यो निर्णयले ऊर्जा, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा विदेशी तथा निजी क्षेत्रको सहभागिता विस्तार गर्दै लगानीमैत्री वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।




















प्रतिक्रिया