आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी शृंखलाको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्समाथि १६ रनको जित निकालेको छ।
नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनका कारण २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सको टोली ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २२० रनमै समेटिएको हो।
नेदरल्याण्ड्सका वेस्ले बारेसीले सर्वाधिक ३६ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३० र माइकल लेभिटले २७ रनको योगदान गरे। अन्य खेलाडीमध्ये काइल क्लेइनले २५ र नोआ क्रोएसले २२ रन बनाए।
नेपालका लागि सन्दीप लामिछाने र नन्दन यादवले समान ३ विकेट लिए। सन्दीपले १० ओभरमा ३९ रन दिँदा, नन्दनले ९ ओभरमा ३९ रन दिए। ललित राजवंशीले २ विकेट तथा करण केसी र कुशल भुर्तेलले १-१ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २३६ रन बनायो। नेपाली पारीको मेरुदण्ड बने आरिफ शेख, जसले संयमित ब्याटिङ गर्दै ८४ रन बनाए। उनले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए।
भीम सार्की र कप्तान रोहित पौडेलले समान ३५ रन बनाए भने कुशल भुर्तेलले १८ तथा दिपेन्द्रसिंह ऐरीले १६ रन बनाए।
नेदरल्याण्ड्सका बलरमध्ये पल भान मिकेरनले सर्वाधिक प्रभाव जमाउँदै १० ओभरमा ५८ रन दिँदै ४ विकेट लिए। माइकल लेभिटले ३ विकेट तथा आर्यन दत्तले १ विकेट लिए।
नेदरल्याण्ड्ससँग यसअघि भएको खेलमा पनि नेपालले जित निकालेको थियो। शृंखलाका ४ खेलमध्ये नेपालले ३ खेल जितेको हो।
यस जितसँगै नेपालले लिग २ मा १६ खेलबाट १२ अंक जोडेको छ र सातौं स्थानमा रहेको छ। नेदरल्याण्ड्सले २३ खेलबाट २६ अंक बनाएको छ।




















प्रतिक्रिया