काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले संघीय निजामती विधेयकमा देखिएको चलखेलबारे गम्भीर छानबिन हुने बताएका छन् ।
बुधबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै मन्त्री सिंहले निजामती विधेयकमाथि उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै दोषी जोसुकै भए पनि कारबाही हुने बताए । छानबिनपछि जोसुकै दोषी भए पनि कारबाही हुनुपर्ने उनले बताए ।
प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती विधेयकमा कुलिङ पिरियडको व्यवस्था गरिएको थियो । तर, ‘बाहेक’ शब्दका कारण समस्या सिर्जना भएको छ ।
‘विधेयकमा तलमाथि भएको भन्ने कुरा आएको छ, छानबिन अवश्य हुन्छ,’ मन्त्री सिंहले भने, ‘कसैले व्यक्तिगत वा समूहगत स्वार्थका लागि चलखेल गरेको प्रमाणित भए, त्यो स्वीकार्य हुँदैन।’
सिंहले संविधान निर्माण गर्दा हस्ताक्षर गर्नेहरुले नै संविधानको विरोध गर्नु उचित नभएको धारणा राखे । उनले सरकारको आलोचना गर्ने नेताहरुले आफू सरकारमा बस्दा के गरे भन्ने बिर्सन नहुने उल्लेख गरे ।
त्यस्तै उनले सरकारको कामकारबाहीलाई जनताले हेरेर बसेको भन्दै जनताका लागि काम गर्न आफूहरु राजनीतिमा आएको बताए ।




















प्रतिक्रिया