काठमाडौं । नेपालको इन्टरनेट सेवा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो प्रविधिगत यात्रालाई समेट्ने उद्देश्यसहित ‘वर्ल्डलिंक संग्रहालय’ स्थापना गरी औपचारिक उद्घाटन गरेको छ ।
ललितपुरको कुसुन्तीस्थित कम्पनीकै कार्यालय भवन परिसरमा निर्माण गरिएको उक्त संग्रहालयको उद्घाटन वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालको प्रमुख आतिथ्यता तथा सह–संस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र प्रमुख कार्यकारी अधिकृत केशव नेपालको विशेष उपस्थितिमा सम्पन्न भएको हो ।

संग्रहालयमा कम्पनीको सुरुवाती चरणदेखि हालसम्मको प्रविधि यात्रामा प्रयोग भएका ऐतिहासिक उपकरणहरू राखिएका छन्। इमेल, डायलअप, भी-स्याट, वायरलेस, केवल इन्टरनेटदेखि हालको एफटीटीएच (फाइबर टु द होम) प्रविधिसम्मको यात्रालाई प्रतिविम्बित गर्ने यस्ता उपकरणहरू इन्टरनेट प्रविधिको स्मरणीय इतिहासका रूपमा संग्रह गरिएको छ ।
वर्ल्डलिंकका प्रवक्ता किरण राज गौतमका अनुसार संग्रहालयमा तत्कालीन समयमा प्रयोगमा रहेका कम्प्युटर मोडेम, वायरलेस डिस्क तथा पुराना एफटीटीएच उपकरणहरू समेटिएका छन् । शुक्रबारका दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संग्रहालय कलेज तहका विद्यार्थीहरूका लागि अवलोकनका लागि खुला गरिने जानकारी गौतमले दिएका छन् ।

वर्ल्डलिंकले आफ्नो इतिहास, योगदान र संघर्षलाई एक ठाउँमा प्रस्तुत गर्नु सामाजिक उत्तरदायित्वको हिस्सा भएको कम्पनीको भनाइ छ। कम्पनीले यो संग्रहालयलाई अध्ययन, अनुसन्धान र अवलोकनको साझा थलोका रूपमा विकास गर्ने विश्वास लिएको छ ।
सूचना प्रविधिको इतिहास बुझ्न चाहने विद्यार्थी, अनुसन्धानकर्ता, लेखक, सञ्चारकर्मी लगायतका लागि यो संग्रहालयले ठूलो सहयोग पुर्याउने विश्वास वर्ल्डलिंकको छ ।





















प्रतिक्रिया