Logo

प्रमुख समाचार

हेटौँडामा आठौँ कोरा साइकल र्‍याली हुने



मकवानपुर । हेटौँडामा आठौँ संस्करणको कोरा साइकल र्‍याली हुने भएको छ । सन् २०१८ देखि निरन्तर रूपमा साइकल महोत्सव गर्दै आएको हेटौँडा राइडर्स क्लबले र्‍याली यही शनिबार हुने जनाएको छ ।

तयारी पूरा भएको जानकारी दिएको छ । ‘दिस इज नट अ रेस, एभ्रीवन इज अ विनर’ भन्ने नाराका साथ आयोजना हुने र्‍यालीको सम्पूर्ण तयारी पुरा भएको राइडर्स क्बलका अध्यक्ष विकास ताम्राकारले जानकारी दिए ।

उनका अनुसार र्‍याली स्वच्छ वातावरण र हरियाली प्रवर्द्धनका साथै हेटौँडालाई साइकलमैत्री शहर बनाउन योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

अध्यक्ष ताम्राकारले र्‍यालीमा १२ वर्षभन्दा माथिका जो–कोही साइकलप्रेमी सहभागी हुन सक्ने जानकारी दिए ।

यस पटकको र्‍यालीमा चितवन, बारा, पर्सा, काठमाडौँ लगायत विभिन्न जिल्लाबाट करिब ३ सयभन्दा बढी राइडरको सहभागिता रहने अपेक्षा गरिएको उनको भनाई छ ।

हालसम्म २५० जनाले नाम दर्ता गराइसकेको पनि अध्यक्ष ताम्राकारले बताए ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित भुवनेश्वर पशुपतिनाथ मन्दिर परिसरबाट बिहान ७ बजे सुरु हुने र्‍याली विभिन्न धार्मिक र पर्यटकीय स्थलको परिक्रमा गर्दै बुद्धचोकमा समापन हुनेछ ।

र्‍यालीमा सहभागी हुन इच्छुकले तीन सय रुपैयाँ शुल्क तिरेर नाम दर्ता गर्न सक्ने बताइएको छ । र्‍यालीमा सहभागीहरूलाई निःशुल्क जर्सी उपलब्ध गराइने आयोजकले जनाएको छ ।

हाल हेटौँडा राइडर्स क्लबमा ५ सय सदस्य आबद्ध छन् भने मकवानपुर जिल्लामा करिब ६ हजार साइकल राइडर रहेको क्लबको दाबी छ । क्लबले हेटौँडालाई साइकलमैत्री शहरको रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार २०:३८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।