Logo

अर्थ

जलविद्युत आयोजनामा निजी क्षेत्रको अहिलेसम्मकै ठूलो लगानी, ५२ अर्बको सम्झौता



काठमाडौं । ३४१ मेगावाटको बुढीगण्डकी अर्ध जलाशययुक्त जलविद्युत् (पीआरओआर) परियोजनाको वित्तीय व्यवस्थापन लगानी जुटेको छ ।

काठमाडौंमा बिहीबार एक कार्यक्रमबीच उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र ऊर्जा मन्त्री दीपक खड्काको सहभागितामा प्रवर्द्धक कम्पनी टाइम्स इनर्जी र १० बैंक तथा वित्तीय संस्थाबीच ऋण लगानी सम्झौता भएको हो ।

७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको बुढीगण्डकी पीआरओआर परियोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंककाे नेतृत्वमा १० बैंक तथा वित्तीय संस्थाले कन्सोर्टियम (संयुक्त) मोडलमा ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी जुटेको हो ।

जसमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १० अर्ब, नबिल बैंक ८ अर्ब, लक्ष्मी सन्‌राइज बैंक ८ अर्ब, ग्लोबल आईएमई बैंक ७ अर्ब, माछापुच्छ्रे बैंक ४ अर्ब, हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी ४ अर्ब,नेपाल इन्फ्रास्ट्रक्चर बैंक ३ अर्ब, प्रभु बैंक ३ अर्ब , सिटीजन बैंक ३ अर्ब र कृषि विकास बैंकले २ अर्ब ५० करोड लगानी गरेका छन् ।

परियोजनामा ७५ प्रतिशत लगानी ऋणमार्फत जुटाउन लागिएको हो । यसमा बैंकहरूले संयुक्त रूपमा साढे ५२ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछन् । बाँकी १७ अर्ब ५० करोड रुपैयाँ भने टाइम्स इनर्जी प्रवर्द्धक कम्पनी स्वपुँजीको रूपमा लगानी गर्नेछन् ।

निजी क्षेत्रले बनाउन लागेको र वित्तीय व्यवस्थापनले गरेको हालसम्मकै ठुलो आयोजना हो । अर्धजलाशय प्रकृतिको यो परियोजना गोरखामा रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार ११:२८   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।