काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले १ अर्ब ३२ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा २.०८ प्रतिशतले घटेको हो ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७७ करोड ५४ लाख रुपैयाँ रहेको छ । जसअनुसार बैंकले ५.२५ प्रतिशत लाभांश बाँड्ने क्षमत राख्दछ ।
चौथो त्रैमाससम्ममा बैंकको सञ्चालन मुनाफा २ अर्ब ९ लाख रुपैयाँमा भएको छ । अघिल्लो वर्ष सञ्चालन २ अर्ब ४ करोड ८५ लाख रुपैयाँ थियो। तुलनात्मक हिसाबले बैंकको सञ्चालन मुनाफा पनि २.३२ प्रतिशतले घटेको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ६ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ५ अर्ब ७२ करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
चुक्तापुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ ७७ करोड ५४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । बैंकको रिजर्भमा ७ अर्ब ४० करोड ९४ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ४३ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।
त्यसैगरी, बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.९४ प्रतिशतमा पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको एनपीएल ४.१० प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ८.७६ रुपैयाँ छ । बैंकको पीई रेसियो २६.०६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५.४२ रुपैयाँ रहेको छ ।




















प्रतिक्रिया