पोखरा । जर्मनीभरबाट आएका विभिन्न पेसमा आबद्ध नेपालीहरूको वार्षिक भेला ‘नेपाली रूट्स सम्मेलन २०२५’ म्युनिखमा सम्पन्न भएको छ । यो वर्षको सम्मेलन ‘जहाँ विचार कार्यसँग भेट्छन् र समुदायले अवसरसँग भेट्छन्’ शिर्षकमा सम्पन्न सम्मेलनको आयोजना नेपाली रुट्सले गरेको थियो ।
नेपाली रूट्स जर्मनीमा रहेका नेपाली पेसागत समुदायलाई ज्ञान, सीप र अवसरको साझा मञ्चमा जोड्ने संस्था हो । यो सम्मेलनमा जर्मनीका विभिन्न सहरमा कार्यरत ७५ जना अनुसन्धानकर्ता, उद्यमी, इन्जिनियर, विद्यार्थी र नेपाली समुदायका अगुवाहरू उपस्थित थिए ।
कार्यक्रममा जर्मनीस्थित नेपालका राजदूत डा. शैल रुपाखेतीले जर्मनीमा रहेका नेपाली पेसागत समुदायको ज्ञान, सीप र सञ्जाललाई नेपाल र जर्मनीबीचको सहकार्यमा प्रयोग गर्न सकिने सम्भावनाबारे जोड दिएका थिए । जीआईजेड नेपालका सौरभ कोइरालाले संस्थागत साझेदारी र दिगो विकासमा ज्ञान–विनिमयको भूमिकाबारे धारणा राखे ।
सम्मेलनमा बोलाइएका मुख्यवक्ता वरिष्ठ जलवायु तथा वायुमण्डलीय वैज्ञानिक र जीएफजेड हेल्महोल्ट्ज सेन्टर, जर्मनीका अनुसन्धान समूह प्रमुख डा. महेश्वर रुपाखेतीले नेपाल न्यून कार्बन उत्सर्जन गर्ने राष्ट्र भए पनि जलवायु परिवर्तनका गम्भीर प्रभावहरू भोगिरहेको उल्लेख गर्दै, जलवायु वित्त, संस्थागत सुदृढीकरण, प्राविधिक क्षमता विकास र प्रवासी समुदायको सक्रिय सहकार्यद्वारा नेपाललाई जलवायु सहनशील बनाउन आह्वान गरे ।
सम्मेलनमा प्यानल छलफल पनि गरिएको नेपाली रूट्सका अध्यक्ष डा. कृतन गौतमले जानकारी दिए । प्यानल छलफलमा जलवायु परिवर्तनले अटोमोटिभ, नीतिगत र प्रविधी क्षेत्रमा पार्ने प्रभावबारे बीएमडब्ल्यूका वरिष्ठ प्रबन्धक प्रकाश सुवेदी र उच्च गतिमा बहने परिवहन (हाइपरलुप) का दिनेश पौडेलले छलफल गरेको संयोजक रवीन्द्र घिमिरेले जानकारी दिए ।
यही सत्रमा बोल्ने वक्ताहरूले नेपालमा विद्युतीय सवारीको तीव्र वृद्धि, नीतिगत स्थिरता, प्राविधिक क्षमता अभिवृद्धि, दिगोपनका लागि प्रविधि प्रयोग, र स्थानीय सरकारदेखि अन्तर्राष्ट्रिय सहकार्यसम्मको आवश्यकतामा जोड दिएका थिए ।
पर्यावरण विशेषज्ञ तथा क्यानोपी वैज्ञानिक डा. यज्ञ अधिकारीले प्रवासी नेपालीहरूको सामूहिक शक्ति, विज्ञान र समुदायको सहकार्यद्वारा हिमाल र वन जोगाउने आवश्यकता औँल्याउँदै, वन पुनस्र्थापना, जलवायु स्मार्ट कृषि, नवीकरणीय ऊर्जा र अन्तर्राष्ट्रिय साझेदारीलाई जलवायु संकटको समाधानका मुख्य बाटोका रूपमा प्रस्तुत गरे ।
वैज्ञानिक अनुसन्धानकर्ता डा. शरदबहादुर थापाले सेमिकन्डक्टरलाई जलवायु सहनशीलताको मेरुदण्ड भन्दै, यसको उच्च ऊर्जा, पानी खपत र कार्बन फुटप्रिन्टका चुनौतीसँगै, स्मार्ट कृषि, नवीकरणीय ऊर्जा, विद्युत यातायात जस्ता क्षेत्रमा नेपालका सम्भावनालाई औँल्याए ।





















प्रतिक्रिया