काठमाडौं । हालसम्म २० वटा म्यचुअल फण्डले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । घोषित लाभांश २० प्रतिशतसम्म छ ।
म्युचुअल फन्डको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ हो । सोही १० का आधारमा इकाइधनीले लाभांश पाउँछन् । कुनै योजनाले २० प्रतिशत लाभांश घोषणा गरेको छ भने उसले दिने लाभांश १० को प्रतिइकाइ २ रुपैयाँ हुन्छ ।
१९/२० प्रतिशत लाभांश घोषणा गरेका योजनाको मूल्य बजारमा प्रतिइकाइ साढे ११ रुपैयाँ हाराहारी छ । अंकित मूल्य १० मा जारी भएका र अहिले ५/७ प्रतिशत लाभांश घोषणा गरेका इकाइको मूल्य साढे ९ देखि १० रुपैयाँसम्म छ ।
खुलामुखी र बन्दमुखी गरी नेपालमा दुई किसिमका म्युचुअल फन्ड सञ्चालनमा छन् ।
म्युचुअल फण्डका विभिन्न नाममा ३८ बन्दमुखी योजना दोस्रो बजारमा सूचीकृत छन् । यी बाहेक १० वटा खुलामुखी योजना सञ्चालनमा छन् । खुलामुखी योजना निश्चित एजेन्ट (तोकिएका बैंक तथा वित्तीय संस्थाका शाखा)बाट मात्रै कारोबार गर्न मिल्छ । दोस्रो बजारमा खुलामुखी योजना खरिदबिक्री हुँदैन ।
गत आवको नाफाबाट सबैभन्दा बढी लाभांश घोषणा गर्नेमा सिद्धार्थ क्यापिटल लिमिटेडद्वारा सञ्चालित म्युचुअल फण्डहरु छन् । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले २० प्रतिशतका दरले नगद लाभांश प्रस्ताव गरेको छ ।
साथै, क्यापिटलकै अर्को म्युचुअल फण्ड सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ ले भने १७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडद्वारा सञ्चालित लक्ष्मी उन्नती कोषले पनि २० प्रतिशत नगद लाभांश गरेको छ । क्यापिटलकै अर्को फण्ड लक्ष्मी भ्यालु फण्ड–२ ले भने १५ प्रतिशत र शुभ लक्ष्मी कोषले १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
त्यस्तै, सनराइज क्यापिटल लिमिटेडका म्युचुअल फण्डहरु सनराइज ब्लुचिप फण्डले १९ प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फण्डले १४ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डले १३.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
साथै, एनआइसी एशिया क्यापिटलका म्युचुअल फण्डहरु एनआइसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत, एनआइसी एशिया ब्यालेन्स्ड फण्डले ९.९० प्रतिशत, एनआइसी एशिया सेलेक्ट–३० ले ८.६५ प्रतिशत र एनआइसी एशिया डायनामिक डेब्ट फण्डले ५.५५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
त्यस्तै, नबिल फ्लेक्सी क्याप फण्डले ९ प्रतिशत, कुमारी सुनौलो लगानी योजनाले ८.८८ प्रतिशत, एनआइबीएल सहभागीता फण्डले ७ प्रतिशत, गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत, एनएमबी सरल बचत–ई ले ४.२७ प्रतिशत र मुक्तिनाथ म्युचुअल फण्ड–१ ले ३.८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् ।




















प्रतिक्रिया