Logo

अन्तर्वार्ता

नाडा अटो शो केवल प्रदर्शनी होइन, नेपालको अटो भविष्यको झलक हो: नाडा उपाध्यक्ष श्रेष्ठ



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७औं संस्करणको नाडा अटो शो २०२५ आउँदो भदौ ३ देखि ८ सम्म आयोजना हुँदैछ ।

काठमाडौंको भृकुटीमण्डपमा ‘गो फर मोर’ नाराका साथ आयोजना हुने प्रदर्शनीले नवीनतम् प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने आयोजकको तयारी छ । नाडा अटो शो प्रदर्शनी मात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब रहेको बताईएको छ। १७ औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

१९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारीका ब्रान्ड, ४ वटा दुईपांग्रे सवारीका ब्रान्ड र अटो पार्ट्स्, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक ३५ कम्पनीहरूको सहभागिता रहने प्रदर्शनीको तयारी तथा समग्र अटोमोबाइल क्षेत्रमा नाडाको उपस्थितिबारे हामीले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष तथा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन बाबु श्रेष्ठसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ उनीसँग गरेको कुराकानीको सम्पादित अंश:

‘नाडा अटो शो, २०२५ को तयारी कस्तो छ, यसमा टाटाको उपस्थिति कस्तो रहन्छ ?

नाडाको अटो शो हामी अटो व्यवसायीका लागि पर्व हो । त्यसकारण पनि हामी यसको व्यग्र प्रतिक्षामा हुन्छौँ । नाडा अटो शो, २०२५ को तयारी लगभग सकिएको छ। यसपटकको शो विगतको भन्दा पृथक, ऐतिहासिक एवं उपलब्धिमूलक हुनेमा हामी आशावादी छौँ। तसर्थ थप उत्साहका साथ हामी यसपटक पनि सहभागी भएका छौँ । टाटाको स्टलबाट यसपटक पनि ग्राहकले फरक किसिमको अनुभूति गर्नुहुनेछ।

नाडा अटो शो, २०२५ मा एक लाखभन्दा बढी आगन्तुकको सहभागिता हुने अपेक्षा गरेका छौँ, जसमा १ सय २५ भन्दा बढी प्रदर्शक हुनेछन्। करिब तीन लाख वर्गफुट क्षेत्रमा फैलिएको प्रदर्शनीस्थलमा १ लाख ६२ हजार ५ सय वर्गफुट प्रदर्शनी क्षेत्र समेटिनेछ। प्रदर्शनीको मुख्य आकर्षणमा युनिट्री रोबोट्स अत्याधुनिक चारपांग्रे रोबोट र डिपलको ईभीटोल यूएभी (उड्ने सवारी) छन्। भिन्टेज मोटर शोमा मोरिस माइनर, बिटल, मिनी कुपर, टोयोटा आरटी४०, माज्दा फेमिलिया, टोयोटा एमआर२ जस्ता ब्रान्डका सवारीसाधन प्रदर्शन गरिनेछ। शो को व्यवस्थापनमा हामीले बिशेष ध्यान दिएका छौँ। नाडा शो अवलोकन गरेर फर्किने ग्राहकलाई निराश हुन दिन्नौँ।

नेपालको अटोमोबाइल सेक्टरलाई आगामी पाँच वर्षमा कहाँ देख्नुहुन्छ ? विशेषगरी नेपालमा इलेक्ट्रिक भेहिकलको दिर्घकालिन सम्भावना कस्तो छ?

पछिल्लो केहि समययता नेपालमा इलेक्ट्रिक सवारी साधनको लोकप्रियताबढिरहेको छ। इन्धनको बढ्दो मूल्य सरकारको अनुकूल नीति तथा वातावरणमैत्री यातायातप्रति उपभोक्ताको रुचिले इलेक्ट्रिक सवारीको माग बढिरहेको हामीले महसुस गरेका छौँ। सरकारले इलेक्ट्रिक सवारीसाधनमा भन्सार तथा कर कटौती गरेको कारण उपभोक्ताहरू यसतर्फ आकर्षित भएका छन्।

यदि सरकारले दीर्घकालीन स्थिर नीतिको स्थापना गरिदियो भने नेपालमा आगामी ५ वर्षमा इभि बजारको सम्भावना अत्यन्त उज्वल र तीव्र रूपमा बिस्तार हुने देखिन्छ। आगामी पाँच वर्षमा नेपालको अटोमोबाइल क्षेत्र तीव्र गतिमा विद्युतीयतर्फ अघि बढ्नेछ। सरकारको नीतिगत समर्थन, उपभोक्ताको बढ्दो चासो, र चार्जिङ्ग पूर्वाधार विस्तारसँगै इभि मुख्यधारमा जाने सम्भावना छ।

टाटा जस्तो ग्लोबल कम्पनीका उत्पादनलाई नेपाली बजारको माग र चुनौतीसँग कसरी प्रतिष्पर्धी बनाउनु हुन्छ?

टाटा मोटर्स ग्लोबल कम्पनी भएकाले हाम्रो उत्पादन विश्वस्तरको गुणस्तर र प्रविधिमा आधारित हुन्छ। तर नेपाली बजारका आफ्नै विशेषता र चुनौतीहरू छन्—जस्तै भौगोलिक बनावट, सडक अवस्था, मूल्य संवेदनशीलता, र चार्जिङ्ग पूर्वाधार। त्यसलाई ध्यानमा राख्दै हामीले किफायतीदेखि प्रिमियमसम्मका इभि मोडल ल्याएका छौँ, जुन ग्राहकको बजेट र आवश्यकता दुवैसँग मेल खान्छ। साथै, नेपालको लागि बिक्रि पश्च्यात सेवा सञ्जाल, चार्जिङ्ग पूर्वाधार र स्पेयर पार्ट सपोर्टमार्फत विश्वासिलो अनुभव दिन हामी निरन्तर काम गर्दैछौँ।

यस शोमा टाटाको ह्यारियर इभी (एचफाइभ इभी) राखिने छ। टाटाको ह्यारियर इभीमा ६५ किलोवाट र ७५ किलोवाट गरी दुई ब्याट्री अप्सन दिइएको छ। यस गाडीले शून्यदेखि १०० किमी प्रतिघन्टा गति ६.३ सेकेन्डमै लिन सक्छ।

यस्तै, रियर-ह्विल ड्राइभ मोडलले अधिकतम ५०५ किलोमिटरको रेन्ज दिनसक्नेछ भने क्वाड ह्विल ड्राइभ भेरियन्टले ६२७ किलोमिटरसम्म रेन्ज दिनेछ।

ह्यारियर इभीमा सिल्ड अपर ग्रिल, कर्भ इभीको जस्तै क्रोम ट्रिम भएको एयरड्याम, १९ इन्चको ह्विल, फ्रन्ट डोर र टेलगेटमा ह्यारियर इभीको ब्याजिङ आदि विशेषता छन्। यसको इन्टेरियरमा ड्युल टोन ड्यासबोर्ड, टच बेसको एचभीएसी कन्ट्रोल, फ्लोटिङ टचस्क्रीन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, फोर स्पोक स्टेरिङ ह्वील आदि रहेका छन्। प्यानारोमिक सनरुफ, टेरेन मोड, इलेक्ट्रिक पार्किङ ब्रेकलगायत विशेषताले ह्यारियर ईभीलाई उत्कृष्ट बनाएको छ।

गाडीमा १४.५३ इन्चको टचस्क्रिन, वायरलेस चार्जिङ, डुअल–जोन क्लाइमेट कन्ट्रोल, अटोमेटिक पार्किङ, सात एयरब्याग, ५४० डिग्री क्यामेरा र २० भन्दा बढी एडासलगायतका फिचर पाउन सकिन्छ।

सरकारी कर नीति र नियमन (जस्तै—EV मा लाग्ने कर, इन्धनयुक्त गाडी आयात प्रतिबन्ध) ले बजारलाई कस्तो असर पारिरहेको छ?

सरकारले हालसम्म कर छुट र भन्सार सहुलियतमा सहजीकरणजस्ता कदमहरू चाल्दै आएकोमा हामी धन्यवाद दिन्छौं। तर, अहिले अटोमोबाइल क्षेत्रका लागि दीर्घकालीन, स्थिर नीतिको आवश्यक छ। सरकारी कर नीति वा इन्धनयुक्त गाडी आयात प्रतिबन्ध जस्ता नियमनले बजारमा केही प्रभाव त पार्छन्। तर, वास्तवमा इभिको बिक्री बढेर आइसको बिक्री घटेको होइन। यी दुईका आफ्नै-आफ्नै ग्राहकवर्ग छन्—जसलाई आइस (ICE)गाडी आवश्यक छ, उनीहरूले अझै पनि त्यही छनोट गर्छन्। अहिले मुख्य चुनौती भनेको समग्र आर्थिक मन्दी र घट्दो क्रयशक्ति हो, जसले दुवै खालका गाडीको बिक्रीमा दबाब ल्याइरहेको छ। तर हुन लागेको नाडा अटो-शो २०२५ र आउदै गरेको चाडपर्वको सिजनले अटो बजारमा चहलपहल ल्याउनेमा हामी विश्वस्त छौँ।

उपाध्यक्षको हैसियतमा, नाडाले डिलर, उपभोक्ता र सरकारले बीच सहयोग बढाउन के-के पहल गरेको छ ?

नाडाले जहिले पनि डिलर, उपभोक्ता र सरकारबीच पुलको काम गर्ने प्रयास गर्दै आएको छ। हामीले नियमित संवाद कार्यक्रम, नीतिगत सुझाव र प्राविधिक छलफलमार्फत सरकारसँग सहकार्य गर्दै आएका छौं। उपभोक्ताको हकहित सुरक्षित गर्न पारदर्शिता र सचेतना अभिवृद्धिमा ध्यान दिइरहेका छौं। साथै, डिलरहरूलाई व्यवस्थित बनाउन तालिम, प्रविधि र बजार प्रवर्द्धनमा पहल गर्दै आएका छौं। यी सबैले गर्दा त्रिपक्षीय सहयोग अझ मजबुत बन्दै गएको छ।

नेपालमा अझै पनि चार्जिङ तथा अन्य इन्फ्रास्ट्रक्चरको अभाव छ। यसलाई नाडाले कसरी सम्बोधन गर्ने योजना बनाएको छ?

हाम्रो सुरुदेखिकै ध्यान केवल गाडी बिक्रीमा होइन, सम्पूर्ण इभि इकोसिस्टमको विकासमा थियो। त्यसैले अहिले देशका विभिन्न सहर तथा क्षेत्रहरूमा तीव्र रूपमा बढ्दै गएको इभिको माग सँगै चार्जिङ र बिक्रि पछिको सेवाको पूर्वाधारको आवश्यक बढ्दै गइरहेको छ। हाम्रो सुरुवाती रणनीतिक स्थानहरूमा विस्तार गरेको हुँदा इभि पूर्वाधारको आवश्यकता पूर्ति भईरहेको छ। अहिले हाम्रो १८५+ फास्ट चार्जिङ्ग नेटवर्क र २०+ सर्भिस सेन्टर उपलब्ध छ भने, आवश्यकता अनुसार थप विस्तार कार्य पनि भईरहेको छ।

टाटाको दीर्घकालीन रणनीति नेपालका लागि के हो ? बजार विधुतीय सवारीमा केन्द्रित भईरहँदा, हाइब्रिड/डिजेल/पेट्रोल सबलाई सन्तुलनमा तपाईहरुको भूमिका कस्तो रहन्छ ?

नेपालका लागि टाटा अथवा समग्र बजारको दीर्घकालीन रणनीति केवल इलेक्ट्रोनिक सवारीमा मात्रै केन्द्रित भने होइन। तर, उपभोक्ताको माग अनुसार टाटाले इभि सेगमेन्टलाई तीव्र रुपमा विस्तार गरिरहेको भने पक्कै हो। हामीसँग भएको सम्पूर्ण ईभीको लाइनअप – किफायती र दक्ष टियागो इभि, आकर्षक पन्च इभि, अत्याधिक रुचाइएको अपग्रेडेड नेक्सन इभि र प्रिमियम एसयुभी कुपे कर्भ इभि छ भने आइसमा हामीले नाडामा नंया प्रिमियम सफारी र अपग्रेडेड नेक्सन सार्वजनिक गर्ने तयारी गरेका छौँ। टाटाको दीर्घकालीन रणनीति नेपालका ग्राहकहरुको इच्छा अनुसारको गाडी बिक्रि गरेर बिक्रिपछिको सेवामा विशेष ध्यान दिनु हो। हामी बिक्री मात्र नभइ उपभोक्ताको सेवामा पनि उतिकै सचेत छौँ जसका कारण आज पनि टाटा नेपालमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनीको सूचीमा छ। २०२३ सम्म पनि विद्युतीय गाडीको बिक्री गर्ने पहिलो नम्बरमा टाटा नै छ । टाटा मोटर्सका अपकमिङ प्रोडक्टहरूको लाइनअप बलियो छ।

नेपाली अटोमोबाइल उद्योगमा सबैभन्दा ठूलो अवसर र सबैभन्दा ठूलो चुनौती कस्तो देख्नुभएको छ?

टोमोबाइल उद्योगको सबैभन्दा ठूलो अवसर भनेको देशमा इभि मोबिलिटीको बढ्दो माग हो। यसले शहर क्षेत्रमा प्रदूषण घटाउने प्रयास र सरकारको नीति समर्थनले इभि अपनत्व बढाउन सहयोग पुर्याइरहेको छ। यो सँगै विभिन्न सेगमेन्टका इभि मोडल अफोर्डेबलदेखि प्रिमियम एसयुभीसम्मले उपभोक्तालाई विकल्प र सजिलो पहुँच प्रदान गरेको छ। यसले उद्योगलाई दीर्घकालीन विकास र नयाँ प्रविधिमा लगानी गर्ने मौका दिन्छ। यो अटोमोबाइल क्षेत्रका लागि निकै ठूलो अवसर हो।

यति भन्दै गर्दा हरेक क्षेत्रमा चुनौती हुन्छन्, यसमा पनि छन्। सरकारले लिने नीति स्थिर नहुँदा यस क्षेत्रले अनपेक्षित चुनौती समाना गरिरहेका छन्। इभि सेक्टरको विकासमा सबैभन्दा ठूलो भूमिका नीतिगत स्थिरताले खेल्छ। बारम्बार कर संरचना परिवर्तन हुँदा उद्योगमा अनिश्चितता बढेको पक्कै हो । जसले गर्दा दीर्घकालीन लगानी प्रभावित भएको छ। त्यसैले स्थिर सरकारसँगै सरकारले लिने नीति कम्तीमा ५देखि १० वर्षका लागि भइदियो भने यस क्षेत्रको स्तरउन्नति हुने थियो। त्यसका लागि स्पष्ट, स्थिर र अग्रगामी नीतिगत ढाँचा अटोमोबाइल क्षेत्र तथा व्यवसायीका लागि अतिआवश्यक छ। यसमा सरकारको ध्यान जान जरुरी देखिन्छ।

नाडा “अटो शो’ हुँदैछ यसमा उपभोक्ताले नयाँ के अनुभव गर्न पाउँछन् ?

यसपटकको नाडा अटो शो बिशेष हुनेछ। ‘नाडा अटो शो २०२५ मा’ नयाँ प्रविधिदेखि ऐतिहासिक एवं पुराना सवारी समेतको प्रदर्शनी गरिँदैछ। यो शो बच्चादेखि बुढासम्मले अनुभूति गर्ने गरी तयारी गरिएको छ। हामी यस शो का माध्यमबाट बजारमा सकारात्मक गतिशीलता ल्याउँदै छौँ।

साथै, उपभोक्ताले एउटै छत मुनि विभिन्न ब्रान्डको नयाँ मोडलहरू हेर्ने र गाडीहरुमा नाडा विशेष अफर र छुटको साथ गाडी बुक गर्न सक्ने र अटो विशेषज्ञसँग सल्लाह लिन सक्नेछन्। साथै, यो पाली ग्राहकहरुले स्मार्ट टेक्नोलोजीको र भिन्टेज कारको पनि अनुभव लिन पाउने छन्। सँगसँगै अटो-शोको दौरान अटो–डाइलग पनि राखेका छौँ। जसबाट उपभोक्ताले सजिलै जानकारी पाउन सक्नुहुनेछ। अटो–डाइलगले अटो व्यवशायीहरु तथा उपभोक्ता समेतलाई आफ्नो अनुभव र चुनौतीहरुका बिषयमा छलफल गर्ने प्लेटफर्म हुनेछ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार १६:१९   :  बजे

1.194k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।