Logo

प्रमुख समाचार

दोहोरो नागरिकता दिँदा नेपाललाई फाइदा: कुलमान घिसिङ



काठमाडौँ । हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले गैर आवासीय नेपाली (एनआरएन) लाई दोहोरो नागरिकता दिँदा मुलुकलाई धेरै लाभ हुने बताएका छन् ।

एनआरएनए द नेदरल्यान्ड्सद्वारा मंगलबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै उनले नेपालको संविधान २०७२ ले एनआरएन नागरिकताको व्यवस्था गरेकाले अब तत्काल आवश्यक कानुन बनाएर त्यसको कार्यान्वयन गर्नु पर्ने बताए ।

“एनआरएनहरुले छुट्टै नागरिकता माग्नु भएको हैन, वंशजको आधारमा आफूले पाएको नेपाली नागरिकता निरन्तर रहोस् भन्ने मात्रै उहाँहरूको माग हो, त्यसमा राज्य संवेदनशील हुनु पर्छ,“ उनले भने ।

भारत, चिन, दक्षिण कोरिया जस्ता मुलुक आफ्नै डायस्पोराको लगानी र सहयोगबाट विकसित भएको उल्लेख गर्दै घिसिङले नेपालले पनि प्रवासी नेपालीको साधन र श्रोत नेपालको उन्नतिको लागि उपयोग गर्नु पर्ने बताए ।

“जल, जङ्गल र जमिन मात्रै हाम्रा श्रोत हैनन्, संसार भरि फैलिएका नेपाली पनि हाम्रा श्रोत हुन्। नेपालको विकासका लागि डायस्पोराको सहयोग र सहभागिता अनिवार्य छ,“ उनले भने ।

गैरआवासीय नेपालीहरूलाई आन्तरिक विवाद समाधान गरेर एकताबद्ध भएर सामूहिक रूपमा देशको समृद्धिका लागि पर्न पनि उनले आग्रह गरे ।

देश र जनताको लागि जिम्मेवारीपूर्वक काम गर्दा गर्दै पनि सरकारले बर्खास्त गरे पछि बहराइनबाट गत महिना आफूले उज्यालो नेपाल अभियान सुरु गरेको घिसिङले बताए ।

“नेपालमा नकारात्मकता छाएको छ, सबै जसोले नकारात्मक कुरा मात्र गर्नाले पनि देशका युवा जनशक्ति देशबाट पलायन भएको अवस्था छ, उज्यालो नेपालकाे एउटा उद्देश्य सकारात्मकता फैलाउनु र मुलुकमा उपलब्ध अवसरहरू उजागर गर्नु पनि हो ,“ उनले भने ।

नेपालमा ऊर्जा सम्बद्ध अवसरहरू जस्तै जलविद्युत, सौर्य ऊर्जा, चार्जिंग स्टेशन, डेटा सेन्टर आदिमा लगानी गर्न पनि उनले आग्रह गरे ।“टालटुल मात्र गरेर मुलुककाे रुपान्तरण हुँदैन,अब मूल राजनैतिक नेतृत्वमा नै सही परिवर्तन आउनु जरुरी छ,“ उनले भने ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार २०:२७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।