काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा सेयर धितो (मार्जिन) कर्जा ५० अर्ब रुपैयाँले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्षको वित्तीय स्थिति रिपोर्टअनुसार अघिल्लो वर्षको ९० अर्ब ९ करोड रुपैयाँबाट बढेर गत वर्ष १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ पुगेको हो ।
कर्जा वृद्धि दर ५६ प्रतिशत रहेको छ भने १ करोडमाथिको कर्जा ७६.९ प्रतिशतले बढेको पाइएको छ। असार मसान्तसम्म १ करोडमाथिको कर्जा ९८ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।
५० लाखदेखि १ करोडसम्मको कर्जा २९ प्रतिशतले बढेको छ । यो सीमाको कर्जा असार मसान्तसम्म १६ अर्ब २ करोड पुगेको छ । २५ देखि ५० लाखसम्मको कर्जा २१.८ प्रतिशतले बढेर १७ अर्ब ५६ करोड पुगेको छ भने २५ लाखमुनिको कर्जा ११.८ प्रतिशतले बढेर ८ अर्ब १७ करोड पुगेको छ ।
बैंकले एक व्यक्तिलाई अधिकतम २५ करोड रुपैयाँसम्म सेयर धितो कर्जा दिन सक्छन्, तर संस्थाको हकमा सीमा छैन । यस्तै, कोर क्यापिटलको ४० प्रतिशतसम्म मात्र यस्तो कर्जा दिन पाइन्छ।
नियमअनुसार नेगेटिभ नेटवर्थ भएका, नोक्सानीमा रहेका, सूचीकरण नभएका वा तीन वर्षदेखि साधारणसभा नगरेका कम्पनीको सेयरलाई धितोमा राखेर कर्जा लिन पाइँदैन ।
सेयरको मूल्यांकन पछिल्लो १८० दिनको औसत मूल्य वा हालको बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ७० प्रतिशत भित्र कर्जा दिइन्छ। सेयर मूल्य घटेमा बैंकले ‘मार्जिन कल’ गर्न सक्ने व्यवस्था पनि छ ।




















प्रतिक्रिया