Logo

अर्थ

रसुवा र तातोपानी नाका सञ्चालन गर्न चेम्बरको आग्रह



काठमाडाैं । गत असारको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ । यी दुई नाका नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र वस्तु आयात निर्यात प्रणालीमा गम्भीर समस्या देखिएकाले तत्काल पुनर्निर्माण गर्न चेम्बरले सरकारसमक्ष आग्रह गरेको हो ।

यसले मूल्यवृद्धिमा समेत असर गर्ने भएकाले सरोकारवाला परराष्ट्र मन्त्रालय, अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ध्यानाकर्षण गराइएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तु बजारमा अभाव सृजना हुने जोखिम बढेको चेम्बरले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दसैं तिहार र छठजस्ता ठूला पर्व नजिकिँदै छन् । अवरुद्ध तातोपानी र रसुवा नाका समयमा पुनर्निर्माण सम्पन्न नहुँदा आयात प्रत्यक्ष प्रभावित भएको र यसले उपभोक्तामाथि अतिरिक्त आर्थिक बोझ पर्न सक्ने देखिन्छ ।’

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार १२:५४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।