Logo

अर्थ

ऊर्जा मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले चालु आर्थिक वर्ष २०८२–८३ का लागि कार्यसम्पादन सम्झौता गरेको छ । मन्त्री दीपक खड्का र मन्त्रालयअन्तर्गतका तीन सचिवबीच बुधवार सम्पन्न सम्झौतामा योजनागत कामलाई परिणाममुखी बनाउन प्रतिबद्धता व्यक्त गरिएको हो ।

सम्झौतामा ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिंचाई सचिव सरीता दवाडी तथा जल तथा ऊर्जा आयोग सचिवालयका सचिव दिनानाथ मिश्र सहभागी भएका थिए । कार्यक्रममा मन्त्री खड्काले गत वर्षको अनुभवलाई आधार बनाएर यसपटक सम्झौतामा उल्लेख भन्दा बढी उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

बजेट र स्रोत सुनिश्चित भइसकेका आयोजना ढिलाइ नगरी अघि बढाउनुपर्छ । सचिव र आयोजना प्रमुखले अझ सक्रिय भूमिका खेल्नुपर्ने समय आएको छ’मन्त्री खड्काले भन् । उनले अनलाइन प्रणालीमार्फत नियमित रिपोर्टिङ गर्ने व्यवस्था मिलाउने र प्रत्येक हप्तामा प्रगति मूल्याङ्कन गर्ने योजना पनि अघि सारे ।

मन्त्री खड्काले अन्तरमन्त्रालय तथा मन्त्रालयभित्रका विभागीय समन्वयलाई मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै समयमै काम सम्पन्न गर्न प्रतिबद्ध हुन निर्देशन दिए । ‘देश बनाउने जिम्मा हामी सबैको हो। क्षमताको पूर्ण सदुपयोग गर्दै परिणाम निकाल्नुपर्छ’, उनले भने ।

यसअघि साउन २९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग ऊर्जा मन्त्री खड्काबीच पनि आगामी वर्षको कार्यसम्पादन सम्झौता भएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार १५:२२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।