Logo

अर्थ

चाडपर्व सुरु भएसँगै अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो



चितवन । चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ । उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्यसमेत बढेको छ । नेपाल अण्डा उत्पादक संघले अण्डाको समर्थन मूल्य बढेको जनाएको छ । विभिन्न फार्महरूको दररेटका आधारमा समर्थन मूल्य तय गरिएको हो ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार, आगामी बिहीबारदेखि लागु हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५४५ रुपैयाँ र मझौला अण्डाको ५३० रुपैयाँ कायम गरिएको छ ।

यससँगै खुद्रा बजार मूल्य प्रतिगोटा २३ रुपैयाँ कायम गरिएको छ । नेपालमा हाल अण्डाको औसत लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ रहेको छ भने नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा १८.१६ रुपैयाँमा पाउने भएका छन् ।

लामो समयदेखि लागत मूल्यसमेत नपाएका किसानले राहत महसुस गरेका छन् । यसवर्ष साउन महिनामासमेत माग नघटेको र क्रमशः अण्डाको मूल्य बढ्दै जाने अध्यक्ष पोखरेलले बताए ।

अहिले लागत मूल्य पाए पनि धेरै किसान विस्थापित भइसकेका छन् । उनले हाल कुखुरा पालिरहेका किसानसमेत विगतको नोक्सानका कारण संकटमा रहेको बताए ।

नेपाल अण्डा उत्पादक संघका पूर्वकेन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले दैनिक ४० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेकामा हाल २२ लाखको हाराहारीमा झरेको जानकारी दिए ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार २०:४२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।