Logo

प्रदेश न. १

मोरङमा १२ घण्टाभित्र ५ जना कोरोना संक्रमितको मृत्यु



पछिल्लो १२ घण्टा भित्र मोरङमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । बिराटनगरका दुई अस्पतालमा उपचाररत चार जना र उर्लाबारीमा होम आइसोलेसनमा बसेका एक संक्रमित सहित बुधबार रातिदेखि बिहीबार विहानसम्ममा ५ जनाको मृत्यु भएको हो ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजको आइसोलेसनमा मात्रै तीन जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये झापा र सुनसरीका दुई महिला तथा मोरङका एक पुरुष रहेको अस्पतलले जनाएको छ ।

झापाको गौरादह–२ की ४९ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको छ। रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र वान्ता हुने समस्या देखिएपछि महिलालाई कात्तिक ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएकोमा स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो ।आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकी महिलाको तीन सातापछि मृत्यु भएको सो अस्पतालले जनाएको छ ।त्यस्तै सुनसरीको इटहरी–३ की ४० वर्षीया महिलाको पनि नोबेलमै बिहान मृत्यु भएको छ ।

ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएकी महिलालाई बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएकोमा पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको थियो ।

मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि बिहीबार बिहान मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका उनको संक्रमण देखिएको १० दिनपछि उपचारकै क्रममा मृत्यु भएको हो ।उनमा ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या थियो ।

मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजको आइसोलेसनमा झापाको दमक–६ की ४२ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको छ । उनमा श्वासप्रश्वासको समस्या देखिएपछि महिलालाई उपचारका लागि बुधबार बिहान अस्पताल भर्ना गरिएकोमा पीसीआर परीक्षण गराउँदा दिउँसो रिपोर्ट पोजिटिभ आएको थियो ।

मोरङको उर्लाबारी– ८ की ४५ वर्षीया संक्रमित महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ । कात्तिक १५ गते कोरोना संक्रमण देखिएपछि उनी घरमै होम आइसोलेसनमा बस्दै आएकी थिइन स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजान नपाइ घरमै उनको मृत्यु भएको हो ।

प्रकाशित : २७ कार्तिक २०७७, बिहिबार