Logo

अर्थ

बैंकहरुको सीएसआर खर्चमा राष्ट्र बैंकको कडाइ



काठमाडौं । अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खर्च गर्ने रकम मनपरी रूपमा प्रयोग गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सीएसआर खर्चलाई पारदर्शी, उद्देश्यपूर्ण र लक्षित वर्गमुखी बनाउने उद्देश्यले कडा व्यवस्था ल्याएको हो ।

‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (प्रथम संशोधन, २०८२)’ जारी गर्दै राष्ट्र बैंकले नयाँ नियमावली सार्वजनिक गरेको छ । यसमार्फत बैंक तथा वित्तीय संस्थाले हरेक आर्थिक वर्षको खुद नाफाबाट निश्चित प्रतिशत छुट्याई सीएसआर कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मार्गदर्शनअनुसार सीएसआर कोषमा जम्मा भएको रकममध्ये कम्तीमा ६० प्रतिशत रकम सोही आर्थिक वर्षभित्र खर्च गर्नुपर्नेछ । साथै, बैंक तथा वित्तीय संस्थाहरूले वार्षिक कार्ययोजना तयार पार्नु पर्ने र अर्धवार्षिक प्रतिवेदन राष्ट्र बैंकमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सीएसआर कोषबाट हुने खर्च अब यथासम्भव लक्षित वर्गका लागि र समाजमा प्रत्यक्ष प्रभाव पार्ने काममा मात्र गर्न पाइनेछ ।

मार्गदर्शनमा निम्न क्षेत्रहरूमा खर्च गर्न सकिने:
शिक्षा (विद्यालय पुनःनिर्माण, छात्रवृत्ति)
स्वास्थ्य (स्वास्थ्य उपकरण वितरण, अपाङ्गता भएका व्यक्तिलाई सहयोग)
मानवीय सहयोग तथा राहत (प्राकृतिक प्रकोपपीडितलाई राहत)
वातावरण संरक्षण (वातावरणमैत्री कार्यक्रम)
वित्तीय साक्षरता अभिवृद्धि
सीपमूलक तालिम (आयआर्जन क्षमतामा वृद्धि)

हालसम्म बैंकहरूले सीएसआर कोष सामाजिक कामको नाममा ब्रान्डिङ, विज्ञापन वा संस्थागत लाभका लागि प्रयोग गर्दै आएको गुनासोहरू बढ्दै गइरहेका थिए ।

 

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलवार ११:१०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।