Logo

विचार / ब्लग

भाग्ने होइन, सुधार्ने हो : विद्यार्थी राजनीतिलाई नयाँ परिभाषा दिने समय



काठमाडाैं । केही दिनदेखि देशभर विद्यार्थीहरू सडकमा छन्। Gen Z ले उठाएको आन्दोलनले देश हल्लिएको छ। यही बेला, विद्यार्थी राजनीति गरेर आएका विद्यार्थी नेताहरूले आ–आफ्ना पार्टी परित्याग गर्ने घोषणा गरिरहेका छन्।

तर म यो धारणा राख्दिनँ। किनकि विद्यार्थी सङ्गठनको सबैभन्दा बढी आवश्यकता परेको यही समय हो। हामी ‘झोले’ होइनौँ। पार्टीको झोला बोकेर मात्र विद्यार्थी राजनीति हुँदैन। सही ठाउँमा, सही समयमा, आफ्नै पार्टीको गलत नीति र नेताविरुद्ध बोल्ने साहस देखाउनु नै विद्यार्थी सङ्गठनको जिम्मेवारी हो। तर दुर्भाग्यवश, आज सबै जना राजनीति छाड्दै छन्। यो त जिम्मेवारीबाट भाग्ने नाम मात्रै हो।

हामीले राजनीतिक विचार बोकेका हौँ, हामीले कुनै राजनीतिक सङ्गठनका नेताको विचार बोकेका होइनौँ। हामी विचारलाई परित्याग गर्न सक्दैनौँ। विद्यार्थीका लागि बोल्ने, विद्यार्थीलाई नेतृत्व गर्ने, पार्टीभित्रै लोकतान्त्रिक अभ्यास गर्ने समय त अहिले नै हो।

नेपालको इतिहासले देखाएको छ—२००७ सालदेखि २०४६ साल, अनि २०६२/६३ सालसम्मका हरेक क्रान्तिको मूल शक्ति विद्यार्थी नै थिए। यही बाटो भएर लोकतन्त्र आएको हो। आज जुन स्थानमा देश उभिएको छ, त्यो विद्यार्थी आन्दोलनकै देन हो।

तर नेपालमा भने, जब आवश्यकता छ तब हामी उल्टै राजनीति परित्याग गर्दैछौँ। यही हो हाम्रो कमजोरी। यसरी भागेर होइन, गल्ती स्वीकार गरेर सुधार्ने जिम्मेवारी लिनुपर्ने समय आएको छ। यति गौरविलो इतिहास बोकेको विद्यार्थी राजनीतिलाई सायद हामीले खस्कायौँ होला, तर अब गल्ती बुझेरे उन्नतिको दिशातर्फ लाग्नुपर्ने बेला आएको छ।

अनेरास्ववियू एमाले सरकार हुँदा मौन बस्यो, नेविसंघ कांग्रेस सरकार हुँदा मौन बस्यो। यसरी चुप लागेर बस्ने प्रवृत्तिले विद्यार्थी सङ्गठनलाई कमजोर बनायो। त्यसैले अहिले भने सबै छाडेर भाग्ने होइन, आफ्नै भूल स्वीकारेर सुधार गर्ने, नयाँ परिभाषा लेख्ने र विद्यार्थी राजनीति पुनः परिभाषित गर्ने बेला हो।

विद्यार्थी सङ्गठनको काम केवल पार्टी नेताको जस्तोसुकै गलत नीति समर्थन गर्ने होइन। विद्यार्थी सङ्गठनले सरकारको जुनसुकै अवैध कदममाथि औँला उठाउन सक्ने सामर्थ्य राख्छ भन्ने कुरा प्रमाणित गर्ने अवसर अहिले हो। तर, यो अवसरलाई गलत दिशामा लगिँदैछ।

आज हामीले राजनीतिको जिम्मेवारी माथिल्लो पुस्तालाई मात्र हस्तान्तरण गरेर, आफू पन्छिने निर्णय लियौँ भने, हामीले भविष्य खोसेका हुनेछौँ। हाम्रो पीढीले नयाँ परिभाषा लेख्न सक्ने ठाउँमा, उल्टै भाग्ने बाटो रोज्नु गम्भीर भूल हुनेछ।

त्यसैले, म स्पष्ट रूपमा भन्छु—यो हामीले अतीतमा गरेका गल्तीहरूलाई स्वीकार गरेर, विद्यार्थी राजनीतिलाई सुधारीएको रूपमै अघि सार्ने अवसरको रूपमा लिनुपर्छ। म विद्यार्थी राजनीति सुधार्न अगाडि बढ्दै छु। भाग्ने होइन, सुधार्ने हो। छोड्ने होइन, परिभाषा फेरिने हो। यही हो विद्यार्थी सङ्गठन र हाम्रो पुस्ताको ऐतिहासिक जिम्मेवारी।

म विधिशा मिश्र, स्वतन्त्र विद्यार्थी युनियन, नेपाल ल क्याम्पसको कोषाध्यक्ष।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १९:१८   :  बजे

336
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।