Logo

अर्थ

जेनजी आन्दोलन: बीमा कम्पनीहरूमा करिब २१ अर्बको बीमा माग दाबी



काठमाडौं । गत भदौ २३ र २४ गते काठमाडौंसहित देशभर चलेको जेनजी आन्दोलनका कारण भएको क्षतिमा बीमा दाबीको रकम झण्डै २१ अर्ब रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणकाअनुसार देशभरका निर्जीवन बीमा कम्पनीहरूमा भदौ ३१ गतेसम्म प्राप्त माग दाबीको रकम २० अर्ब ७० करोड ३८ लाख रुपैयाँ पुगेको हो ।

हाल देशभर १४ निर्जीवन बीमा कम्पनी र ४ लघु निर्जीवन बीमा कम्पनी गरी कुल १८ कम्पनी क्रियाशील छन् । तीमध्ये सबैभन्दा धेरै बीमा दाबी दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ ।

४० वटा माग दाबी निवेदनबाट कम्पनीसँग ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँ बराबरको बीमा दाबी गरिएको छ । यो हिल्टन होटेलको माग दाबी समेतको हो ।

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ४ अर्ब ९३ करोडको माग दाबी परेको छ । सिद्धार्थमा कुल २ सय ५८ वटा निवेदन परेको छ ।

शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड ४ लाख रुपैयाँ माग दाबी सहित ३ सय ६६ वटा निवेदन परेका छन् । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड ६ लाख रुपैयाँ बराबरको २४ वटा बीमा दाबीको निवेदन परेको छ ।

त्यस्तै सगरमाथा लुम्बिनीमा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ बराबरको २ सय ३३ वटा दाबी परेका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्सरमा १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ माग दाबी सहित १९६ वटा आवेदन पर्दा र नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड ५३ लाख रुपैयाँ बराबरको ४० वटा निवेदन परेको बीमा प्राधिकरणको तथ्याङ्क छ ।

इन्स्योरेन्स कम्पनीमध्ये नेशनल इन्स्योरेन्समा सबैभन्दा कम ६ करोड रुपैयाँ बराबरको माग दाबी छ । उक्त कम्पनीमा १९ वटा आवेदन प्राप्त भएको छ । माइक्रो इन्स्योरेन्समध्ये प्रोएक्टिभ इन्स्योरेन्समा १ करोड १३ लाखको दाबी पर्दा अन्य कम्पनीमा करोडभन्दा कम दाबी परेको बीमा प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १५:००   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।