काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापासहितका केही युवा नेताहरुले विशेष महाधिवेशनका लागि अभियान छेडिरहेका बेला सभापति शेर बहादुर देउवा समर्थक २३ जना नेताहरुले भने त्यस विषयमा असहमति जनाउँदै अहिले विशेष महाधिवेशनतिर जानु अनुचित हुने धारणा सार्वजनिक गरेका छन् ।
जेन-जी आन्दोलनका क्रममा आन्दोलनकारीहरुको आक्रमणमा परी घाइते सभापति शेरबहादुर देउवा दम्पती उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकै दिन एक बक्तब्य जारी गर्दै सूदुर पश्चिम प्रदेशका कार्यबाहक सभापति लोकराज अवस्थी, केन्द्रीय सदस्यद्वय सुशिला मिश्र र नृप बहादुर वड, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, राष्ट्रिय सभा सदस्य नारायण दत्त मिश्र, नेपाली कांग्रेस कैलाली जिल्ला सभापति तथा राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्ट, नेपाली कांग्रेस कंचनपुर जिल्ला सभापति पदम बोगटी लगायतले देउवाबाट नेतृत्व हस्तान्तरण हुने वचन आइसकेकाले बिशेष महाधिवेशनमा जानू नहुने तर्क अघि सारेका हुन् ।
संयुक्त बैठकपछि देशको राजनीतिक निकास र पार्टीभित्रको आन्तरिक एकताबारे धारणा सार्वजनिक गर्दै ती २३ जना नेताले जेन-जीका नाममा पार्टी नेताहरूको निजी आवासमा भएको आगजनीलाई लोकतन्त्र र कांग्रेसलाई कमजोर बनाउन बाह्य शक्तिको षड्यन्त्र भएको आरोप समेत लगाएका छन् ।
यस्तो अवस्थामा पार्टीलाई एकढिक्का बनाउन सबै सदस्य जिम्मेवार बन्नुपर्ने उनीहरूको भनाई छ । उनीहरूले जेन-जीका नाममा गत भदौ २४ गते सभापति तथा पूर्वप्रधानमन्त्री देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको भौतिक आक्रमणको कडा निन्दा गरेका छन् ।
उनीहरूले देउवा र पत्नी आरजुमाथि सांघातिक आक्रमणमा, कोइराला निवास, चाक्सीबारी र भट्टराई आश्रम लगायत पार्टीका नेताहरूको निजी आवास, पार्टी कार्यालायहरूमा भएको आगजनी र तोडफोडले लोकतन्त्र मास्ने खेल भएको बताएका छन् ।
‘कांग्रेसलाई कमजोर बनाउने विभिन्न शक्ति केन्द्रहरूको पर्दा पछाडिको खेल र प्रदर्शनमा दूषित स्वार्थपूर्ति गर्ने मनसायका व्यक्ति र समुहको घुसपैठ हो भन्ने निष्कर्ष छ’, उनीहरूले भनेका छन्, ‘यसबाट उत्पन्न परिस्थितमा पार्टीलाई एक ढिका बनाउन हामी सबैको कर्तव्य हो ।’
सभापति शेरबहादुर देउवा उपचाररत भएकाले वर्तमान पदाधिकारीहरूले सुझबुझका साथ निर्णय लिनुपर्छ’, उनीहरूले भनेका छन्, ‘सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्ने यसअघि नै गरिसकेको प्रतिबद्धतालाई ध्यानमा राख्नु जरुरी छ ।
आन्तरिक विवाद हुने गरी विशेष महाधिवेशन वा हस्ताक्षर संकलनजस्ता गतिविधि नगर्नुस् ।’ उनीहरूले अहिलेको राजनीतिक निकासका लागि गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापित गर्नुपर्ने मत समेत राखेका छन् ।
यसअघि विशेष महाधिवेशनको माग गर्दै गुरुराज घिमिरे, जनकराज गिरी, रामपल्टन साह, सुरज काप्ले, मेदनी सिटौला, प्रविण ओझा, दिक्पाल शाही, युवराज पाण्डे, टीका गुरुङ, कृष्ण रिजाल, ऋषिकेश तिवारी, युवराज भट्टराई, बीरबहादुर राना, सुरेन्द्रराज आचार्य, मुकेश घिमिरे, देवराज चालिसे, तारानाथ दाहाल, विनोद खनाल, रुद्र कन्दङ्वा, कुमार लुइँटेललगयत महाधिवेशन प्रतिनिधिहरू संयुक्त बक्तब्य प्रकाशित गर्दै बिशेष महाधिवेशनको माग गरेका थिए ।
विशेष महाधिवेशनमार्फत् पार्टीलाई वर्तमान संकटबाट निकाल्ने र समयसापेक्ष, लोकप्रिय तथा सुदृढ बनाउनै पर्नेमा उनीहरूको जोड छ।’ आजको अवस्था र परिस्थिति आउनुमा कतै विगतमा हामीले अख्तियार गरेका नीति, लिएका निर्णय, चालिएका कदम र हामीले गरेका काम कारवाही त जिम्मेवार छैनन् ?
देशमा व्याप्त भ्रष्टाचार, कुशासन, बेथिति, समाजमा फैलिएको असन्तोष र चुलिदै गएको जनआक्रोशका लागि कतै हामी त जिम्मेवार छैनौं ?’, उनीहररूले प्रश्न गरेका छन् ‘यसबारे निर्मम समीक्षाको खाँचो छ । आज पार्टीसामु गम्भीर प्रत्र उठेका छन ।
यसको सामना गर्नपर्ने वाध्यता हाम्रा लागि निकै कष्टकर तर पन्छाउनै नसकिने प्रत्रहरू पहाड बनेर खडा भएका छन्।’ उनले विगतका गल्तीहरूप्रति नेतृत्वले क्षमा माग्नुपर्ने पनि बताएका खबर रहस्यमा उल्लेख छ ।
‘यी सबै विषयमा छलफल गरी विगतका गल्तीहरूप्रति आम देशवासीसँग क्षमा माग्न र सुधारिएर भविष्यको बाटो तय गर्न विशेष महाधिवेशनबाहेक अर्को माध्यम छैन’, उनीहरूले भनेका छन् ।
‘वर्तमान परिस्थितिको गम्भीरता बोध गरी केन्द्रीय समितिको क्षेत्राधिकार समेत रहेको विशेष महाधिवेशन बोलाउने दायित्वलाई केन्द्रीय समितिले मनन् गर्ने सम्भावना क्षीण वन्दै गएकाले हामी महाधिवेशन प्रतिनिधिहरूमा रहेको वैधानिक अधिकारको उपयोग गर्दै तयारीमा लाग्ने संकल्प लिएका छौं’, उनीहरूले भनेका छन्, ‘यो पार्टीलाई यथास्थितिमा राखे कि अग्रगमनतर्फ लैजाने आजको मूल प्रश्न यही हो।
आजको विषम परिस्थिति र संकटबाट कांग्रेसलाई मुक्त गर्न वर्तमान केन्द्रीय समिति मात्र होइन, हाम्रो पनि उत्तिकै दायित्व हो। इतिहासको यस संवेदनशील घडीमा पार्टीलाई वर्तमान दुरावस्थाबाट निकालेर समयसापेक्ष, लोकप्रिय, प्रभावकारी र सुदृढ तुल्याउन आवश्यक रहेको जिम्मेवारीबोध गरी पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको प्रक्रियामा सामेल हुन आग्रह गर्दछौं ।’





















प्रतिक्रिया