Logo

धर्म / संस्कृति

गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो



गोरखा । गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।

बडादसैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए ।

बा २ झ ३८८२ नं को सरकारी गाडीमार्फत राखेर हनुमान ढोका दरबारका लागि फूलपाती पठाइएको उनको भनाइ छ । गोरखा दरबारको दसैँघरबाट दरबारका सुसारेहरूले फूलपातीसहितको डोली बोेकेर ल्याई गाडीमा राखेर पठाएका हुन् ।

गोरखा दरबारको दसैँघरबाट बाजागाजासहितको ‍-याली निकालेर फूलपातीको बिदाइ गरिएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए । “गोरखाबाट पठाइएको फूलपाती हनुमान ढोका दरबारमा पुर्याएपछि आजै साँझ हर्षबढाइका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ”, उनले भने ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमा हनुमान ढोका दरबारबाट राजकाज सुरु गरेपछि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमान ढोका दरबारमा लगेर भित्र्याउने गरिएको छ ।

जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायतले गोरखा दरबारको फूलपातीको विदाई गरेर हनुमान ढोका दरबार पठाएका हुन् । गोरखा दरबारको दसैँघरमा पनि आज साँझ हर्ष बढाइका साथ फूलपाती भित्र्याइन्छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार १०:४०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।