Logo

खेलकुद

वेस्ट इन्डिजमाथि नेपालको शानदार जित, एक खेल अगावै शृंखला



काठमाडौं । वेस्ट इन्डिजलाई लगातार खेलमा हराउँदै नेपालले यूएईमा जारी युनिटी कप टी-२०आई शृंखला एक खेल अगावै जितेको छ ।

नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराएको हो । नेपालले दिएको १७४ रनको बलियो लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । वेस्ट इन्डिज कुनैपनि बेला खेलमा हावी हुन सकेन ।

नेपालका आदिल आलमले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए । कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय पारी खेले । आसिफले ४७ बलमा अविजित ६८ रन बनाए । जोराले ३९ बलमा ६३ रन बनाए ।

नेपाल ४३-३ को अवस्थामा हुँदादेखि आसिफ र जोरा मिलेर चौथो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए ।

वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेनले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । काइल मेयर्सले २ ओभरमा २६ रन दिएर २ विकेट लिए । जेदिया ब्लेड्सले एक विकेट हात पारे ।

यसअघि पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई हराएर ऐतिहासिक जित हासिल गरेको थियो । यस खेल जितपछि नेपालले टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक शृंखला समेत जितेको छ ।

 

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार २३:३८   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।