जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र लुटपाट गर्नेलाई अविलम्व कानुनी कारबाहीको दायरामा ल्याउन सरोकारवालाहरुले सुझाव दिएका छन् ।
गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ का सदस्य एवम् प्रवक्ता विज्ञानराज शर्माको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय मोरङले आज यहाँ आयोजना गरेको कार्यक्रममा उक्त सुझाव दिइएको हो ।
छलफलमा सहभागीहरुले आन्दोलनका क्रममा अर्बौ रकम बराबरको क्षति भएको र निजी सम्पत्तिमाथि तोडफोड, आगजनी तथा लुटपाट गर्नेलाई कानुनी कारबाहीको दायरमा ल्याउन आयोगको ध्यानाकर्षण गराए ।
आयोगका सदस्य शर्माले आयोगको क्षेत्राअधिकारभित्र फौजदारी मुद्धा नपर्ने भएकाले गत भदौ २३ र २४ गतेका घटनामा सरकारी, स्थानीय निकाय, निजी क्षेत्रमा भएको तोडफोड, आगजनी तथा लुटपाटका सम्बन्धमा छानबिन गरिने बताए ।
उनले आयोग स्वतन्त्र निकाय भएकाले सबैको भावना समेट्ने गरी सत्यतथ्य जाँचबुझ गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाउने बताए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाको सम्बन्धमा आवश्यक छानबिन गर्न माग गरे ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रहरीले क्षतिको मुचुल्का उठाइसकेको जानकारी गराए । सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदार गुरागाईंले पीडितले न्याय पाउनुपर्ने र पीडकलाई कारबाही हुनुपर्नेमा जोड दिए ।




















प्रतिक्रिया