काठमाडौं । । जेनजी आन्दोलनमा नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंक लुटपाट गरेर बुलेट मोटरसाइकल खरिद गरेको खुलेको छ ।
पक्राउ परेका दोलखा निवासी २७ वर्षीय दीपक श्रेष्ठले प्रारम्भिक अनुसन्धानमा प्रहरी समक्ष यस्तो स्वीकारोक्ति दिएका हुन् । श्रेष्ठका अनुसार उनले बैंकबाट करिब २ लाख ५० हजार रुपैयाँ लुटेका थिए र त्यसमा थप १ लाख ७२ हजार रकम जोडी ४ लाख २२ हजार रुपैयाँमा रातो रंगको बुलेट मोटरसाइकल खरिद गरेका हुन् ।
उनले प्रहरीलाई दिएको बयानमा ३ थान सुनका बाला, १ थान बेरुवा औँठी र गणेशको लकेट भएको १ थान सिक्री पनि साथमा लगेको उल्लेख गरेका छन् ।
यस प्रकरणमा श्रेष्ठसँगै एक नाबालकलाई समेत प्रतिवादी बनाई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
उक्त बैंकबाट ३८ करोड ४० लाख रुपैयाँ बराबरको सम्पत्ति लुटिएको छ, जसमा १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद सामेल छन् ।




















प्रतिक्रिया