Logo

प्रमुख समाचार

सुध्रिन तयार छु, देश छाडेर जा भने पनि म रेडी: दुर्गा प्रसाईं



काठमाडौं । राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले आफू सुध्रिन तयार रहेको बताएका छन् । उनले देश छाडेर जान भनिएमा पनि त्यसका लागि आफू तयार रहेको उल्लेख गरे ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले भने, ‘तपाईंहरूले भन्नुहुन्छ, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने म रेडी, म जान तयार। म जान्छु। मलाई लोभ हैन। मलाई केही चाहिँदैन।’

आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै उनले जानेर नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताए । आफूलाई मूलधारका मिडियाले कहिल्यै राम्रो नलेखेको गुनासो गर्दै प्रसाईंले भने, ‘तपाईंहरूसँग लडेर आएको हो नि त। मेन स्ट्रिमको मिडियाले त मलाई कहिल्यै राम्रो लेखेन नि, कहिल्यै लेखेन जीवनमा।’

‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईंले गत चैत १५ गते काठमाडौंको तिनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि पक्राउ परेका थिए । उच्च अदालतको आदेशपछि उनी रिहा भएका थिए ।

 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार १२:२१   :  बजे

291
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।