Logo

अमेरिकी निर्वाचन: बाइडेन एरिजोना राज्यमा पनि बिजयी



गत नोभेम्बर ३ मा सम्पन्न अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी भएका छन्  ।

जितसँगै राष्ट्रपति–निर्वाचित भइसकेका बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अन्तर अझ फराकिलो भएको छ ।

एरिजोनाका ११ इलेक्टोरल कलेज (निर्वाचन प्रतिनिधि) सहित बाइडेनले अब २९० इलेक्टोरल कलेज प्राप्त गरेका छन् ।

अमेरिकामा कूल ५३७ मध्ये २७० इलेक्टोरल कलेज प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन् । एरिजोनामा बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा करिब ११ हजार बढी मत प्राप्त गरेका  निर्वाचन अधिकारीहरुलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।

सन् १९९६ मा बिल क्लिन्टन विजयी भएपछि पहिलो पटक एरिजोना राज्यमा डेमोक्रेटिक उम्मेदवार विजयी भएका हुन् । चार वर्षअघि डोनाल्ड ट्रम्पले यहाँ ३.५ प्रतिशत विन्दुले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए । यसैबीच, बाइडेनले झिनो अग्रता बनाएर जितेका राज्यहरुमा पुनः मतगणना गर्न रिपब्लीकन पार्टीले देशव्यापी अभियान चलाएको छ ।

ट्रम्प अभियानले एरिजोना राज्यमा पनि मुद्दा दायर गरिसकेको छ । राज्यको सबैभन्दा ठूलो काउन्टी मारिकोपामा बाइडेनका समर्थकहरुले जबर्जस्ती मतदानका लागि मानिसलाई उक्साएको रिपब्लीकन समर्थकले आरोप लगाएका छन् । हाल झिनो बहुमत प्राप्त गरी बाइडेन विजयी भइसकेका पेन्सिल्भेनिया र जोर्जिया राज्यमा हातले एकएक गरी पुनः मतगणना गर्न लागिएको छ । यी दुबै राज्यले मतगणनाको कार्य सम्पन्न नभएको जनाउँदै राष्ट्रपति–निर्वाचित बाइडेनलाई प्रमाणपत्र दिएका छैनन् । मतगणनाको कार्य पूरा नभएको र कानुनी लडाइँ बाँकी रहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई समेत दिएका छैनन्  भने ह्वाइट हाउसमा अन्तरिम पहुँच दिन अस्वीकार गरेका थिए ।

राष्ट्रपति ट्रम्पले चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् । राष्ट्रपति ट्रम्पले यसबीचमा रक्षा मन्त्री मार्क एस्परलाई बर्खास्त गर्नुका साथै विदेश मन्त्री माइक पोम्पेओलाई विदेश भ्रमणको स्वीकृति दिएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार १५:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।