Logo

प्रमुख समाचार

जेनजी आन्दोलनमा ४ हजार गोली र ८ हजार अश्रुग्यास प्रहार



२३ र २४ भदौमा प्रहरीतर्फ भएको क्षतिबारे छानबिन गर्न बनेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मी नेतृत्वको समितिले प्रतिवेदन बुझाएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई बुझाएको प्रतिवेदनअनुसार, जेन-जी आन्दोलनको दुई दिनमा देशभर ४ हजार २४ ‘लाइभ एम्युनेसन’ (धातुका गोली) प्रहार भएको भेटिएको छ ।
प्रहरीको प्रारम्भिक प्रतिवेदनमा २ हजार ६ सय ४२ धातुका गोली प्रहार भएको उल्लेख थियो । तर, अन्तिम प्रतिवेदन तयार हुँदा देशभर झण्डै दोब्बर संख्यामा धातुको गोली प्रहार भएको पाइएको हो । ‘त्यसबेला प्रारम्भिक विवरण मात्र संकलन भएको थियो, भण्डारमा भएको गोलीगठ्ठासँग भिडाएर पूर्ण विवरण लिनै बाँकी थियो,’ समिति स्रोतले भन्यो, ‘सबै विवरण संकलन भएपछि उल्लेख गरेर प्रतिवेदन बुझाएका छौं ।’
प्रहरी उच्च स्रोतका अनुसार, प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले मात्र ५५३, काठमाडौं उपत्यकामा १ हजार ९९३, कोशी प्रदेशमा २९९, मधेश प्रदेशमा ६३९, बागमतीमा १६, गण्डकीमा ४४, लुम्बिनीमा १७०, कर्णालीमा २ र सुदूरपश्चिममा ३०७ धातुका गोली प्रहार भएको पाइएको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार, २ दिनमा ८ हजार ६५४ अश्रुग्यास प्रहार भएको पाइएको छ । त्यसमध्ये प्रहरी प्रधान कार्यालयले मात्र १ हजार ३५७, काठमाडौं उपत्यका प्रहरी र अन्तर्गत ४ हजार ४९, कोशी प्रदेशमा ८४५, मधेशमा ३७४, बागमतीमा ७८, गण्डकीमा ३६६, लुम्बिनीमा ४४९, कर्णालीमा ४५५, सुदूरपश्चिममा ३८७ अश्रुग्यास प्रहार भएको पाइएको छ । प्रतिवेदनअनुसार, प्रहरी प्रधान कार्यालयले ५१६, काठमाडौं उपत्यकाले १ हजार ६८३, कोशीले १५१, मधेशले ६९, बागमतीले ११, गण्डकीले १७१, लुम्बिनीले २८, कर्णालीले १३६ र सुदूरपश्चिममा ११ वटा रबरको गोली प्रहार भएको थियो । प्रहरी प्रधान कार्यालय, उपत्यका र सातवटै प्रदेश गरेर २ हजार ९२० ब्ल्यांक फायरिङसमेत भएको थियो । यसरी दुई दिनमा १८ हजार ३७३ पटक फायरिङ भएको पाइएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले रेग्मी नेतृत्वको समितिले प्रतिवेदन बुझाएको पुष्टि गरे पनि त्यसको विस्तृत विवरण आफूलाई थाहा नभएको जनाए । ‘यो आन्तरिक प्रयोजनका लागि बनेको छानबिन समिति हो, प्रहरी कार्यालयमा भएका क्षतिलगायतका विवरण संकलन गरिएको हो,’ उनले भने, ‘अरु कतिपय विषयहरु चाहिँ आन्तरिक प्रयोजनका लागि मात्र हुन् ।’ प्रहरी अधिकारीहरुका अनुसार, प्रतिवेदनमा जेन-जी आन्दोलनमा काठमाडौंमा मात्रै प्रहरीको १ अर्ब १९ करोड रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको उल्लेख छ । ललितपुरमा १९ करोड र भक्तपुरमा ८ करोड रुपैयाँबराबरको क्षति पुगेको भनिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार २१:२९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।