Logo

प्रमुख समाचार

राष्ट्रपति रामचन्द्र पौडेल कतार भ्रमणमा जाँदै



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदै हुनुहुन्छ । सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा भाग लिन उहाँ कतार जान लाग्नुभएको हो ।सम्मेलन कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन लाग्नुभएको हो ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नुहुने छ ।

३० वर्षपछि पुन: आयोजना हुन लागेको यो सम्मेलन संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार भइरहेको हो । यसअघि सन् १९९५ मा पहिलो सम्मेलन डेनमार्कको कोपनहेगनमा भएको थियो ।

सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायतका व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

सामाजिक विकासका विषयमा केन्द्रित यो सम्मेलनले विश्वका देशबिच सहकार्य र साझा प्रतिबद्धता बलियो बनाउने अपेक्षा गरिएको छ । कतार भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कनुहुने छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार ०८:२६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।