Logo

प्रमुख समाचार

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विरोधमा राप्रपा नेपाल आन्दोलन गर्ने



 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसम्बन्धी व्यवस्था राष्ट्रिय स्वतन्त्रता, अखण्डता र प्रजातन्त्रका लागि घातक हुने ठहर गरेको छ ।
अध्यक्ष कमल थापाको अध्यक्षतामा काठमाडौँमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस विषयमा जनतालाई सचेत गराउन पार्टी क्रियाशील रहने निर्णय गरेको हो ।
बैठकले समान विचारधारा भएका हिन्दुवादी, राजावादी, राष्ट्रवादी तथा भ्रष्टाचार विरोधी शक्तिहरूसँग एकता र सहकार्य गर्ने निर्णय गर्दै वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । टोलीमा उपाध्यक्ष तेज कुरुम्वाङ र महामन्त्री राजाराम वर्तौला सदस्य रहेका छन् ।
भ्रष्ट व्यवस्थाका पृष्ठपोषक र विदेशी शक्तिहरूको षड्यन्त्रका कारण जेन्जी आन्दोलनको म्यान्डेट ‘हाइज्याक’ भएको निष्कर्ष निकाल्दै राप्रपा नेपालले अधुरो आन्दोलनलाई टुंगोमा पुर्‍याउन विभिन्न चरणका जनपरिचालन र संघर्षका कार्यक्रमहरू सञ्चालन गर्ने घोषणा गरेको छ । यस क्रममा आगामी मंसिरको पहिलो हप्तामा प्रधानमन्त्री र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा भ्रष्टाचार अन्त्य, सुशासन, हिन्दु अधिराज्यको स्थापना र प्रदेश संरचना खारेजीलगायत मुख्य मागसहित ज्ञापनपत्र बुझाइने पार्टीले जनाएको छ ।
मंसिर र पुस महिनामा ७५३ वटै पालिकाहरूमा हस्ताक्षर अभियान, ‘मेची–महाकाली राष्ट्रिय जागरण यात्रा’ र काठमाडौँ उपत्यकामा जनजागरण अभियान सञ्चालन गरिनेछ। साथै, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यवसायीहरूसँग अन्तरसंवाद कार्यक्रम र विभिन्न पालिकाहरूमा ‘हिन्दु अधिराज्य किन ?’ विषयमा जनसभा आयोजना गरिने राप्रपा नेपालले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १९:५७   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।