Logo

विविध

मातृशक्तिको आराधना गर्ने एउटा कठोर जितिया पर्व



तोहर माय जितिया कैने छौ त आ भिड’ अर्थात तिम्री आमाले जितिया व्रत बसेकी छन् भने आउ भिड । यो उक्ति मिथिला क्षेत्र मात्रै नभएर तत्कालीन मध्यदेशको कुल १३ वटा जनपदमध्ये नेपालको सीमाभित्र पर्ने तीनवटै जनपदका युवाहरूले अहिले पनि कुस्ती खेल्ने बेलामा प्रयोग गर्ने गर्छन् । कोही पनि एउटा ठूलो दुर्घटनाबाट बचेर फर्कियो भने तराईमा सिधै भनिन्छ ‘तिम्री आमाले गरेको जितिया पर्वको फल हो यो ।’

यही शक्तिशाली एवं कठोर जितिया पर्व नेपालको तराइभेग एवं आसपासका भारतीय क्षेत्रमा पनि आजदेखि तीन दिनसम्म धुमधामका साथ मनाउने गरिन्छ । आफ्नो सन्तानको लागि जति प्रशव वेदना एउटी आमाले सहन्छिन्, त्यही आमाले आश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमी तिथिसम्म आफ्नो सन्तान दीर्घायु र समृद्धिको लागि अर्को कठोर व्रत बस्ने गर्छिन् । यो एक किसिमको उपासना हो जहाँ दिवंगत मातृशक्तिको पूजा गरिन्छ र आफ्ना सन्तानको दीर्घायुको कामना गर्ने गरिन्छ ।

मनुस्मृतिका अनुसार उत्तरमा हिमालय, दक्षिणमा विन्ध्याचल, पश्चिममा विनशन “राजस्थानको मरुभूमिमा सरस्वतीको लुप्त हुने स्थान” तथा पूर्वमा गंगा “यमुनाको संगमस्थल” प्रयागसम्म फैलिएको भूभागलाई मध्यदेश भनेर उल्लेख गरिएको छ । त्यही मध्यदेशबाट मधेश भन्ने शब्दावली बनेको मानिन्छ । त्योमध्यदेशमा कुल १३ वटा जनपद थिए । त्यही मध्यदेशका जनपदहरूमध्ये ३ वटा जनपदले सिञ्चिएको भूमि हाल नेपालको भूभागमा पर्छ ।

पूर्वदेखि पश्चिमसम्मका सम्पूर्ण तराईवासी नेपालीको लागि यो पर्व आ–आफ्नै महत्वका साथ मनाउने गर्छन् । कतै पुरुष र महिलाहरू दुवै यो कठोर व्रत बस्छन् त कतै महिलाहरूमात्रै व्रत बस्ने गर्छन् । थारूहरूले यसलाई आफ्नो विशेष पर्व मान्छन् । मिथिला होस् या भोजपुरा सबैतिरकाले यसलाई अपनत्व महसुस गर्दै मनाउने गर्छन् । मिथिला क्षेत्रका संस्कृतिविद् डा। रामदयाल राकेश भन्छन् ‘एउटै वाक्यमा भन्दा यो सिंगो तराईलाई एउटै सूत्रमा बाँध्ने एउटा पवित्र पर्व हो ।’

जितियाको सामाजिक सांस्कृतिक महत्व

यसको सामाजिक महत्वलाई केलाउँदा यो मातृशक्तिलाई पुज्ने छुट्टै खालको पर्व हो । हिन्दुशास्त्रमा धेरै पर्वहरू छन् जसमा पुरुष शक्तिलाई पुजिन्छ । तर आफ्नै दिवंगत महिला पुर्खालाई सम्झिने यो पर्व सिंगो मुलुकमा नै एउटा भिन्न खालको पर्व रहेको बताउँछन् जितिया पर्वका जानकार गोपाल ठाकुर । उनी भन्छन् ‘जुनसुकै पर्व पनि सामाजिक र सांस्कृतिक महत्व बोकेकै खालको हुन्छ । तर यो पर्व अरूभन्दा भिन्न छ । हामी श्राद्ध गर्छौं पितृपक्षको लागि, अरू पूजाआजामा पनि पितृपक्षको नै बढी दबदबा हुन्छ । तर यो यस्तो पर्व हो । जहाँ मातृशक्तिलाई पूज्ने गरिन्छ ।’ मातृशक्तिको स्मरणको लागि स्त्री जातिले नै गर्ने कठोर किसिमको यो व्रतलाई केवल मिथिला र भोजपुरा क्षेत्र विशेषको पर्व भन्नै नमिल्ने ठाकुरको मत छ । ‘मध्यदेशका नेपालको सीमामा पर्ने तीनवटै जनपदको मुख्य पर्व हो यो । न कि यो मिथिला र भोजपुराको मात्रै ।’

पितृपक्षको एउटा कठोर पर्व

यो पर्व हरेक वर्ष असोज महिनाको पितृपक्ष “कृष्ण पक्ष”मा मनाउने गरिन्छ । असोज कृष्ण सप्तमीको दिन कोदोको रोटी वा माछाका विभिन्न परिकारलाई दरको रूपमा खाने गरिन्छ । यो कठोर व्रतअघिको अन्तिम खाना हो ।

संस्कृतिविद् डा। गंगाप्रसाद अकेलाका अनुसार जितिया पर्वलाई शास्त्रीय भाषामा जिमुत वाहन पर्व भनिन्छ भने स्थानीय भाषामा जितिया भनिएको हो । यसको तीनदिनको आ–आफ्नै विधान छ । पहिलो दिन अर्थात् सप्तमीको दिन बिहान स्नान गरिसकेपछि नङ काट्न लगायतका सबै शरीर शुद्धीका कर्महरू गर्नुपर्छ । पवित्र भइसकेपछि चील, गिद्ध र स्यालको स्त्री र पुरुष लिङ्गी स्वरूपको पूजा गर्ने गरिएको छ । त्यो पूजाको क्रममा घिरौंलाको पातमा दही, च्युरा, सख्खर आदि चढाउने गरिन्छ । त्यसमा तुलसीपत्तालाई पनि अनिवार्य गरिएको पाइन्छ । व्रतको अघिल्लो दिन माछा खानै पर्ने नियम छ । यदि माछा नखानेहरूले कोदो खाने गर्र्छन् ।

व्रत बस्ने दिन बिहान भने ४ बजेअघि नै सात्विक भोजन खानुपर्ने हुन्छ । यही विषयमा एउटा स्थानीय उक्ति सम्झन्छन् अकेला ‘जितिया पगनी बढभारी घिया पुताके ठोक सुतलक अपने लेलक भैरथारी’ अर्थात् व्रत बस्नेले व्रतको दिन बच्चाहरूलाई खुवाउने अनि बच्चाहरूलाई सुताएपछि मात्रै आफूले खाना खानू भन्ने शास्त्रीय आदेश छ । सप्तमीको दिनलाई ‘लाहा खाएके,’ भन्ने गरिएको जानकारहरू बताउँछन् ।

जितियाको दोस्रो दिन अष्टमीलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भन्ने गरिन्छ । पारन अर्थात् व्रत सकिएपछि खाने पहिलो प्रसाद हो । जसमा दिवंगत आमा, हजुरआमाहरूलाई मनपर्ने शाकाहारी या मांसाहारी खाना समेत खाने गरिएको ठाकुर बताउँछन् ।

यही पर्वसँग जोडिएको सरगै भन्ने परिकारको पनि चलन देख्न सकिन्छ । सरगै खुवाउने चलन रहेको संस्कृतिविद् डा। राकेश बताउँछन् । यसको लागि नयाँ धानबाट कुटेको चिउरालाई दहीमा राखेर बनाइन्छ । साथै, जितिया पूजा नगर्ने आफन्तको घरमा सरगै पु¥याउने चलन रहेको राकेशले बताए ।

एउटा कठोर व्रत

जतिबेला पहाडीभेगमा सोह्र श्राद्धको माहोल सुरु हुन्छ, त्यसपछि तराई जितियाको माहालमा डुबिसकेको हुन्छ । हुन त यो पर्व तीनदिन मनाइन्छ । तर यसको माहोललाई केवल ३ दिनमा खुम्च्याउन चाहँदैनन् तराईवासीहरू ।

व्रत आफैँमा कठोर हुन्छ । तर आजकल व्रतमा पनि केही खुकुलो गरिएको पाइन्छ । तर जितिया पर्व अहिलेसम्म पनि तराई भेगकै एउटा कठोर पर्वको रूपमा परिचित छ ।

जसरी पहाडी भेगका मान्छेले तीजमा निर्जला व्रतलाई सबैभन्दा कठिन मान्ने गर्छन् त्यो भन्दा कठिन छ जितियाको नियम ।

जितिया पर्वसम्बन्धी अर्का जानकार आनन्द गुप्ता दर खाएर बस्ने या दर नखाइ बस्ने जितिया गरी यसको पनि दुई पक्ष रहेको बताउँछन् । दर खाएर परम्परालाई स्थानीय भाषामा ‘डट्खट’ दर खाने गर्दछन् । ‘खर जितिया’ भन्ने अर्को कठोर जितिया हो । जसमा ‘डट्खट’ खाइँदैन ।

अघिल्लो दिन दर खाएर बस्ने व्रतमा व्रतालुहरू दर खाइसकेपछि जाग्राम बस्नुपर्ने शास्त्रीय मान्यता छ । अष्टमीको दिन व्रत बसेका महिलाहरूले एउटा घाँसको पात पनि चुँड्न नहुने, पानी पिउन नहुने र मुखमा केही गरी भुसुना पस्यो भने पनि व्रत सिद्ध हुँदैन भन्ने मान्यता छ । अष्टमीको दिन रातभरि यसैगरी जागा बसेपछि नवमीको दिन बिहानै प्रसाद ग्रहण गरेर व्रत समापन गर्ने मान्यता छ ।

जितिया पर्वमा गाउँने गीतलाई बदहा गीत भनिन्छ । यो सप्तमीको दिनदेखि अष्टमीको दिन बिहानसम्म गाउने गरिन्छ । अष्टमीको दिन बिहान सबेरै उठेर नजिकैको खोला या नदीमा स्नानको लागि जाने गर्छन् । नदी या खोलामा पातमा पिना राखी बगाउने चलन समेत छ । स्नान गरेर फर्केपछि बेल टिप्न जाने चलन छ । बेल टिप्न जाने बेलामा गर्ने बेलको रूखको चारैतिर व्रतालुहरूले  फुला लोर्होनी गीतमा झमटा नाच नाच्ने गर्छन् । व्रतालुले पात समेत टिप्न हुँदैन भन्ने मान्यता छ । त्यसैले त्यहाँ व्रत नबसेकालाई बेल टिप्न लगाउने गर्छन् । उपवासको दिन अर्थात् अष्टमीको दिन अपराह्न व्रतालुहरू फेरि खोलामा गई पिनाले नुहाउने गर्छन् । बेलुकीको स्नानपछि पिपलको रूखमुनि गएर झम्टा नाच नाच्ने गरेको संस्कृतिविद्हरू बताउँछन् ।

यो पर्व संवृद्धिको पर्व हो । यो पर्वमा दिवंगत सासु या आफ्नी आमाको पूजा आराधना गर्ने गर्छन् । यो पर्वमा मातृशक्तिको पूजाको लागि घिरौंला वा घिरौंलाको पात, खरी र तेलको प्रयोग बढी हुने गर्छ । यो ऋतुसँग जोडिएको पर्व समेत भएकोले यो पर्वमा यही ऋतुमा धेरै फल्ने फलफूललाई बढी महत्व दिने गरिन्छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  ६ : १४ बजे