काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागका प्रमुख दीर्घ रावल पुनः विवादको केन्द्रमा आएका छन्। नियामकको संवेदनशील जिम्मेवारीमा रहेर विभिन्न बैंकका वित्तीय अनियमितता ‘ढाकछोप’ गर्ने, र ‘कारबाही हुने संकेत’ पहिले नै सम्बन्धित पक्षलाई जानकारी दिने जस्ता आरोप लागेका रावल यसपटक एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालसँग गरिएको गोप्य भेटका कारण विवादमा परेका हुन्।
राष्ट्र बैंकका एक अधिकारीका अनुसार रावलले सोमबार अग्रवालसँग गोप्य रूपमा भेट गरेका थिए। भेटमा अध्यक्ष अग्रवालले आफ्नो बैंकमाथि तयारी भइरहेको कारबाही प्रक्रिया रोकिदिन वा ‘सहज रूपमा टुंग्याइदिन’ अनुरोध गरेको बताइन्छ।
त्यो समयमा राष्ट्र बैंकले एनआईसी एशिया बैंक र तत्कालीन सीईओ रोशनकुमार न्यौपानेमाथि नियामकीय निर्देशन उल्लङ्घन र वित्तीय अपराधको आरोपसहित नगद जरिवानाको तयारी गरिरहेको थियो। त्यस्तो अवस्थामा रावलले प्रत्यक्ष भेटवार्ता गर्नु नियामक पदको ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ मानिएको छ।
राष्ट्र बैंकको स्रोतका अनुसार, यो भेटको व्यवस्था रावलका मामा जयन्द्र रावलले मिलाएका थिए। जयन्द्र रावल अहिले एनआईसी एशिया बैंकका सहायक सीईओ हुन्। राष्ट्र बैंकले अध्यक्ष र सीईओलाई स्पष्टिकरण सोध्ने तयारी गर्दै गर्दा सो जानकारी मामा रावलमार्फत बैंकसम्म पुगेको, र त्यसपछि तत्कालीन सीईओ न्यौपानेले सोधपुछ अघि नै राजीनामा बुझाएको तथ्य खुलिसकेको छ।
तर, राष्ट्र बैंकले न्यौपानेले राजीनामा दिए पनि कारबाही प्रक्रिया भने नरोकिने जनाएको छ। न्यौपानेले आफ्नो स्पष्टिकरण पेश गरिसकेका छन् र बैंक तथा सीईओ दुवैलाई दुई लाख रुपैयाँसम्मको जरिवाना गर्न राष्ट्र बैंक तयारी अवस्थामा रहेको बताइएको छ।
‘गोप्य डिल’को आशंका
राष्ट्र बैंकबाट कारबाहीको सूचना बाहिरिएपछि अध्यक्ष अग्रवाल स्वयं राष्ट्र बैंक पुगेका थिए। त्यस क्रममा कार्यकारी निर्देशक रावलसँग एक्लै भेट भएको र भेटमा ‘डिल’सम्म पुगेको हुनसक्ने अनुमान विभिन्न निकायमा गरिएको छ। अनुसन्धान निष्पक्ष भएको दाबी भइरहेका बेला यस्तो गोप्य भेटले नियामक निकायको विश्वसनीयता माथि प्रश्न उठाएको छ।
राष्ट्र बैंक कानुन विभागका एक अधिकारीले भने, “अनुसन्धान अन्तर्गत रहेका व्यक्ति वा संस्था प्रतिनिधिसँग गोप्य रूपमा भेट्नु नियमविपरीत हो। यस्तो भेटले संस्थागत आचरणमै प्रश्न उठाउँछ,” भन्दै भेट ‘पद मर्यादाविपरीत’ रहेको टिप्पणी गरे।
रावल पक्षले भने भेटलाई बैंकका ‘नियमित विषय’सँग सम्बन्धित बताएको छ। अध्यक्ष अग्रवालले कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।
सोही दिन रावलले गभर्नर महाप्रसाद अधिकारीसँग पनि एकान्तमा भेट गरेको स्रोतको दाबी छ। सामान्यतया गभर्नर वा कार्यकारी निर्देशकहरूले भेटवार्ताका क्रममा कम्तीमा एक जना अधिकारीलाई साथमा राख्ने प्रचलन रहँदै आएको छ। तर, यसपटक अग्रवाल र गभर्नरबीच झन्डै एक घण्टा लामो एकान्त भेट भएको बताइएपछि राष्ट्र बैंकभित्रै विभिन्न आशंका उत्पन्न भएका छन्।
अध्यक्ष अग्रवाल र तत्कालीन सीईओ न्यौपाने यसअघि पनि क्याप्टेन रामेश्वर थापाको सहयोगमा राष्ट्र बैंकको प्रभाव प्रयोग गरी वित्तीय अपराधबाट उन्मुक्त भएका थिए भन्ने आरोप पनि पुरानो छ।
सँधै दोहोरिने अपराध
आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक निरीक्षणमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ का प्रावधान उल्लङ्घन गरेको भन्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवाल र तत्कालीन सीईओ न्यौपानेमाथि कारबाही प्रक्रिया अघि बढाएको थियो।
पहिलो चरणमा राष्ट्र बैंकले उनीहरूलाई केवल चेतावनी (‘नसिहत’) दिएको थियो। तर, त्यसपछि पनि बैंकले उस्तै प्रकारका अनियमितता— विशेषगरी सम्बन्धित व्यक्ति र संस्थाका खातामा अनधिकृत रूपमा बढी ब्याजदर प्रदान गर्ने र कर्जाको प्रोभिजन नगर्ने— दोहोर्याएको पाइएको छ। त्यसैले यसपटक राष्ट्र बैंकले नगद जरिवाना गर्ने तयारी गरेको हो।





















प्रतिक्रिया