काठमाडौं । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका क्रममा तोडफोड र आगजनीबाट क्षति भोगेको सर्वोच्च अदालतका सम्पूर्ण सेवा मंसिर १ देखि सञ्चालनमा आउने भएको छ । सर्वोच्चले सूचना जारी गर्दै मंसिर १ देखि सबै खालका मुद्दाको सुनुवाइ जानकारी दिएको हो ।
२४ भदौको प्रदर्शनका क्रममा सर्वोच्च पूर्ण रुपमा जलेको थियो । आगजनी, ढुङ्गामुडा, तोडफोड र लुटपाटसमेतका कारणबाट यस अदालतको अधिकांश भौतिक संरचना, इजलास, चालु मुद्दा तथा सूचना प्रणालीसमेतमा क्षति पुगेको थियो ।
‘मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेको हुँदा पेसी तारेखको मिति आउन बाँकी रहेका उक्त मुद्दाहरूको २०८२ मंसिर १ गते उप्रान्त पूर्ववत् रूपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुनेछ’ अदालतको सूचनामा भनिएको छ,‘अन्य पेसी नचढेका मुद्दाहरूको कानुनबमोजिम अंग पुर्याई सुनुवाइ गरिने बेहोरा सम्बन्धित मुद्दाका पक्ष र अन्य सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’
बन्दीप्रत्यक्षीकरणसहित सबै प्रकारका रिट निवेदन, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ का निवेदनहरू मात्र दर्ता एवम् सुनुवाइ हुँदै आएको थियो ।
२० गते बसेको फुलकोर्टले सेवा अवरुद्ध भएका सुरु मुद्दा, पुनरावेदनपत्र, दोहोर्याई पाउँ भन्ने निवदेन एवं पुनरावलोकन निवेदन समेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ गर्ने निर्णय गरेको हो ।




















प्रतिक्रिया