Logo

अर्थ

एमसीसीद्वारा नेपाललाई थप ७ अर्ब अनुदान, कुल सहायता १ खर्ब ६ अर्ब पुग्यो



काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालका लागि एमसीसी कम्प्याक्टमा अतिरिक्त ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान थप गरेको छ ।

यससँगै परियोजनाअन्तर्गत नेपाललाई उपलब्ध गराइने कुल सहायता रकम ७४ करोड ७० लाख अमेरिकी डलर (लगभग १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ ।

परियोजनाको आर्थिक संरचना:

अमेरिकाबाट: ५५ करोड डलर (पहिलेको) + ५ करोड डलर (थप) = ६० करोड डलर ।

नेपाल सरकारबाट: १९ करोड ७० लाख डलर ।

कुल सहायता: ७४ करोड ७० लाख अमेरिकी डलर ।

ऊर्जा र कनेक्टिभिटीमा टेवा

एमसीसीले उपलब्ध गराएको यो अतिरिक्त सहयोगले नेपालका प्राथमिकताप्राप्त प्रसारण लाइन र ऊर्जा पूर्वाधार परियोजनाहरूलाई समयमै पूर्णता दिन महत्त्वपूर्ण टेवा पुर्‍याउने बताइएको छ ।

यो अनुदानले निम्न कुरामा सहयोग गर्ने अपेक्षा गरिएको छ:

-ऊर्जा ग्रिडको सुदृढीकरण र विश्वसनीयता वृद्धि गर्ने।

-उत्पादन, प्रसारण र व्यापार श्रृङ्खलामा सुधार ल्याउने।

-क्षेत्रीय ऊर्जा व्यापारलाई थप सुदृढ बनाउने।

-नेपाललाई अन्तर्राष्ट्रिय ऊर्जा कनेक्टिभिटीमा थप मजबुत बनाउने।

अनुदानले ऊर्जा पूर्वाधार निर्माणमा अमेरिकी उत्कृष्टता र प्रविधिको उपयोग बढाउने उल्लेख छ । यसले गर्दा अमेरिकी कम्पनी तथा प्रविधि प्रदायकहरूका लागि नेपाली ऊर्जा बजारमा प्रवेशको अवसरसमेत विस्तार हुनेछ ।

नेपाल-अमेरिका साझेदारीको प्रतीक

काठमाडौंस्थित अमेरिकी दूतावासले यो सहायतालाई नेपाल-अमेरिका सम्बन्धको दीर्घकालीन साझेदारी र पारस्परिक समृद्धिको साझा प्रतिबद्धताको प्रतीकका रूपमा लिएको छ ।

दूतावासले एक वक्तव्यमार्फत भनेको छ, “यो आर्थिक सहयोगले अमेरिका र नेपालबिच रहेको चिरस्थायी साझेदारी प्रतिबिम्बित गर्दछ । दशकौँसम्म हाम्रा देशहरूले आर्थिक वृद्धि, ऊर्जा सुरक्षा र पारस्परिक समृद्धिलाई अघि बढाउन सँगै काम गरेका छन्। एमसीसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित र अनुदानमा आधारित सहायतामार्फत उक्त इतिहासलाई निरन्तरता दिएको छ ।”

कार्यान्वयनमा सुस्तता

यसैबिच, नेपालमा एमसीसी सम्झौता लागू भएको दुई वर्ष पुग्न लाग्दा पनि परियोजनाको कार्यान्वयन पक्ष भने सुस्त देखिएको छ । दुवै पक्षबाट खर्च गर्ने भनिएको बजेटको खर्च न्युन रहेको छ। यसले गर्दा परियोजनाहरू समयमै सम्पन्न हुनेमा आशंका उब्जाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार २०:५८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।