Logo

प्रमुख समाचार

आईपीओ निष्काशन प्रस्ताव अनुमोदन गर्दै एसियन होटलको वार्षिक साधारण सभा सम्पन्न



एशियन होटल लिमिटेडको प्रथम वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष पारस अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको कम्पनीले जनाएको छ।

सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी संरचना पुनर्संरचना गर्ने निर्णय गरेको छ। संस्थापक तथा सर्वसाधारण समूहबीचको शेयर संरचना पुनर्सन्तुलन गर्ने प्रस्ताव पनि पारित भएको छ। साथै, रु. १०० अंकित मूल्यका ४२ लाख कित्ता साधारण शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्दै आवश्यकीय प्रशासनिक, वित्तीय तथा प्राविधिक निर्णय गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गरिएको छ।

भैरहवा, लुम्बिनी प्रदेशमा अवस्थित एशियन होटल चार–तारा स्तरको लक्जरी सेवा उपलब्ध गराउने होटलका रूपमा परिचित छ। होटलमा ‘एलीट किंग’, ‘क्लासिक प्रिमियम’ र ‘सुइट’ श्रेणीका ६६ आधुनिक तथा आरामदायक कोठाहरू छन्।

स्वीमिङ पूल, स्पा, २४-घण्टा हेल्थ क्लब, क्यासिनो, तीन प्रकारका बार, फ्री वाइफाइ, मिनीबार, जाकुजि, कार पार्किङ, खुला गार्डेन र क्याम्पफायर तथा मनोरञ्जनात्मक गतिविधिसहितका सेवाहरूले होटललाई प्रिमियम गन्तव्यका रूपमा स्थापित गरेका छन्।

विवाह, सम्मेलन तथा सामाजिक कार्यक्रमका लागि बैंक्वेट हल, पार्टी प्यालेस र कन्फरेन्स सुविधासमेत सञ्चालन गर्दै आएको कम्पनीले इभेन्ट सेवा व्यवसायमा पनि मजबुत पकड़ जमाइरहेको छ। सभाले होटलको सेवा स्तर विस्तार, पर्यटन प्रवर्द्धन र दिगो आतिथ्य सेवा विकासका लागि कम्पनीले रणनीतिक रूपमा अघि बढ्ने जनाएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार २१:१६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।