डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले नेपाली बजारमा दुईतर्फी संवाद गर्न सक्ने उन्नत एआई सेवा “खुशी” औपचारिक रूपमा सार्वजनिक गरेको छ।
निरन्तर प्रविधि–आधारित नवप्रवर्तन गरिरहेको डिशहोमले यसअघि भर्चुअल प्रिभिलेज कार्डमार्फत २०० भन्दा बढी साझेदार व्यवसायमा २५ प्रतिशतसम्म छुट सुविधा प्रदान गर्दै डिजिटल सेवालाई नयाँ आयाम प्रदान गरिसकेको छ।
डिशहोमले नेपाल प्रिमियर लिग २०२५ को प्रत्यक्ष प्रसारण आफ्नै ओटीटी प्लेटफर्म ‘डिशहोम गो’ मार्फत गरेर २ लाखभन्दा बढी डिजिटल दर्शकलाई एकैपटक सेवा दिन सफल भएको थियो।
यही प्रविधि सुधारको यात्रालाई निरन्तरता दिंदै, कम्पनीले अब ग्राहकसँग नेपाली भाषामा सीधा संवाद गर्न सक्ने “खुशी” सेवा सञ्चालनमा ल्याएको हो।
“खुशी” मार्फत सेवा निष्क्रिय भएका ग्राहकलाई मानव–जस्तै आवाज प्रयोग गरेर पुनःनवीकरण, अफर जानकारी, गुनासो तथा सुझाव संकलन, र भावनात्मक प्रतिक्रिया विश्लेषण (सेंटिमेन्ट एनेलाइसिस) गर्ने सुविधा उपलब्ध हुनेछ।
साथै प्राविधिक अवरोधको कारण, समाधान समय र प्रगति विवरण एआई प्रणालीमार्फत नै ग्राहकलाई तुरुन्त उपलब्ध हुनेछ, जसले ठूलो संख्यामा कॉल आउने अवस्था सहज बनाउने अपेक्षा गरिएको छ।
डिशहोमले आगामी चरणमा “खुशी” मार्फत ग्राहक पहिचान प्रमाणीकरण, डेटाबेस अद्यावधिक, जडान तथा मर्मतसम्बन्धी समय व्यवस्थापन स्वचालन, र फेसबुक मेसेंजर, वेबच्याट हुँदै व्हाट्सएप तथा भाइबरमा सेवा विस्तार गर्ने लक्ष्य राखेको छ।




















प्रतिक्रिया