वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार गरिएको बजार अनुगमनका क्रममा चार फर्म तथा उद्योगलाई जरिवानासहित कारबाही गरेको छ। विभागले मध्यपुरथिमीस्थित न्यानो नेपाली सिरक उद्योगलाई अनियमित व्यापारिक अभ्यासका कारण रु २० हजार जरिवाना लगाएको जानकारी दिएको छ।
त्यस्तै भक्तपुर सल्लाघारीमा सञ्चालनमा रहेका श्री चोङ्गा गणेश हार्डवेयर र कृष्ण प्लाइउड एण्ड पेन्टलाई समानरूपमा रु १० हजारका दरले जरिवाना गरिएको विभागले जनाएको छ। यसैगरी काठमाडौँ महानगरपालिका–१६ मा रहेको इमरान रेडिमेडलाई पनि रु १० हजार जरिवानासहित कारबाही गरिएको हो। विभागका अनुसार ती सबै व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ र दफा ३८ को ‘घ’ बमोजिम कारबाही गरिएको हो।
अनुगमन टोलीले सोमबार काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रका १५ फर्म निरीक्षण गरेको थियो। निरीक्षणमा संलग्न टोलीले बजारमा गुणस्तर, मूल्यसूची, कर रसिद, उपभोक्ता अधिकार तथा भण्डारण व्यवस्थासम्बन्धी विवरण परीक्षण गरेको थियो। तीमध्ये ११ फर्मलाई तत्काल कानुनअनुसार आवश्यक सुधार गर्न र उपभोक्ता हित विपरीतका गतिविधि नगर्न निर्देशन दिइएको विभागले सूचना सार्वजनिक गरेको छ।
विभागले पछिल्ला महिनादेखि बजार अनुगमनलाई नियमित रूपमा सुदृढ बनाउँदै आएको छ। विशेषगरी चाडपर्वपछि मूल्यवृद्धि, नक्कली सामग्री बिक्री, मापदण्डविपरीत भण्डारण तथा प्रचलित ऐनविपरीत व्यापार सञ्चालनबारे उपभोक्ताबाट गुनासो बढ्न थालेपछि अनुगमनको दायरा विस्तार गरिएको विभागको भनाइ छ।




















प्रतिक्रिया