Logo

समाचार

एनआरएनए अमेरिका र युएस नेपाल टुडेको संयुक्त पहलमा महिला दिवस लक्षित संवाद कार्यक्रम हुँदै



कोलोराडो, अमेरिका । अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका र युएस नेपाल टुडे डटकमको संयुक्त आयोजनामा विशेष संवाद श्रृंखला कार्यक्रम सञ्चालन हुने भएको छ ।

महिलाको स्वास्थ्य, सुरक्षा, सामाजिक सञ्जालको प्रभाव तथा नयाँ पुस्ताका महिलासम्बन्धी सवाललाई केन्द्रमा राखेर संवाद कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

कार्यक्रमअन्तर्गत फेब्रुअरी १४ मा ‘महिला र स्वास्थ्य’, फेब्रुअरी २१ मा ‘एनआरएनए र दोस्रो पुस्ताका युवा महिला’, तथा फेब्रुअरी २८ मा ‘सामाजिक सञ्जाल र महिला सुरक्षा’ विषयमा संवाद सञ्चालन गरिनेछ ।

त्यसैगरी मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसकै दिन ‘अमेरिकामा घरेलु हिंसा र पारपाचुके किन बढ्दै छ?’ विषयमा विशेष छलफल आयोजना गरिनेछ ।

सबै संवाद कार्यक्रमहरू बिहान ९ः३० बजे (न्युयोर्क समय) सुरु हुनेछन्। कार्यक्रम एनआरएनए एनसीसी अमेरिका र युएस नेपाल टुडे डटकमका आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष (लाइभ) प्रसारण गरिनेछ, जसबाट अमेरिका तथा विश्वभर रहेका नेपाली समुदायले सहभागिता जनाउन सक्नेछन्।

एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सत्येन्द्र शाहका अनुसार संवाद श्रृंखलाको उद्देश्य महिलासँग सम्बन्धित समसामयिक मुद्दामाथि गम्भीर छलफल गर्नु, चेतना अभिवृद्धि गर्नु तथा समाधानका उपायहरू खोज्नु हो।

महिला सशक्तीकरण, अधिकार र सुरक्षाका विषयमा सरोकारवाला निकाय तथा समुदायबीच खुला संवादको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको उनले बताए ।

एनआरएनए एनसीसी अमेरिका र युएस नेपाल टुडे डटकमले सबैलाई कार्यक्रममा सहभागी भई अन्तर्राष्ट्रिय महिला दिवस २०२६ लाई अर्थपूर्ण बनाइदिन आग्रह गरेका छन्।

प्रकाशित मिति : १८ माघ २०८२, आईतवार ०८:०४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।